जुम्ला- जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन। एक कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डर सम्म व्यवस्थापन गरिएको बताइएको छ।
चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।
गुठिचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ। २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए। उक्त गाउँपालिकामा १० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ।
उनले भने,‘कोरोना संक्रमितको प्राण भनेको नै अक्सिजन हो। कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा खासै अर्थ हुदैन्।’ चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्कसंग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको उनले बताए।
अहिले सम्म अक्सिजन दिनुपर्ने बिरामी भर्ना भएका छैनन । बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन नदिने बताउँदै उनले भने,‘लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ।’
गुठिचौर बाहेक जुम्लाको अन्य स्थानीय तहमा ५ बेडको कोभिड अस्पताल सञ्चालनमा छन। हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ।