बागमती- बागमती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ।
प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ। प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो।
करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ। प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट जडान भइसकेका छन्। मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक÷एक जिल्ला एक पिसिआर मेशिन’ को निर्णय गरेको थियो।
रासस