दाङ- प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीको चिकित्सकीय सहयोगमा तुलसीपुर उपमहानगरपालिकाद्वारा तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल संचालनमा ल्याइएको छ।
अस्पतालमा अक्सिजन, मनिटर सुविधासहितको ३० एचडीयु. बेड छन। अस्पतालमा बिरामिहरुलाई आयुर्वेद, योग एवं आधुनिक चिकित्सापद्धति प्रयोग गरी एकिकृत चिकित्सा प्रदान भइरहेको छ।
यस अस्पतालमा हालसम्म रोल्पा, सल्यान जिल्ला, तुलसीपुर उपहानगरपालिका अन्तर्गत विभिन्न वडा, घोराही उप महानगरपालिका, लमही नगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउपालिकाका बिरामीले सेवा स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पतालमा सम्पूर्ण औषधोपचार पूणर्रुपमा निःशुल्क गरिएको छ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दोस्रो चरणमा आइसियु, भेन्टिलेटर, पिसिआर ल्याव र अक्सिजन प्लान्ट जडान गर्ने विषय प्रक्रिया अघि बढाएको बताए।
कोभिड अस्पतालमा कार्यरत प्रादेशिक आयुर्वेद चिकित्सालयका कन्सल्टेन्ट आयुर्वेद सर्जन डाक्टर मदन भण्डारीले दिएको जानकारी अनुसार हालसम्म यस अस्पतालमा १०९ जना उपचारका लागि भर्ना भएका छन्। ५३ जना संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्।
अस्पतालमा बिरामीहरुलाई गुडूची, तुलसी, यष्टिमधु, त्रिकटु, सितोपलादि, च्यवनप्रास आदि आयुर्वेदिक औषधि एवं योग, प्राणायाम, ध्यान सहित आधुनिक चिकित्साको प्रयोग गरिएको उनले बताए।