लुम्बिनी- कोरोना भाइरस सङ्क्रमणदर घट्दै गएको छ। अघिल्लो हप्ता लुम्बिनी प्रदेशमा ४० प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमणदर ह्वात्तै घटेर २६.३ प्रतिशतमा पुगेको छ।
स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी नेत्रलाल अर्यालका अनुसार सङ्क्रमित हुनेमा २५ देखि २९ वर्षका धेरै छन्। यो उमेर समूहका करीब १३ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ। त्यसपछि ३० देखि ३४ वर्षका १२ प्रतिशत, ३५ देखि ३९ र २० देखि २४ वर्षका १० प्रतिशत सङ्क्रमित छन्। सबैभन्दा कम ७० देखि माथि र १० वर्षभन्दा कम उमेर समूहका छन्। यो उमेर समूहका ज्येष्ठ नागरिक र बालबालिकामा सङ्क्रमणदर झण्डै दुई प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ।
प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो।
कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा उपचारका लागि सहज भएको छ। अघिल्लो हप्तासम्म भरिभराउ रहेका लुम्बिनीका अस्पतालमा बिस्तारै बिरामीको चाप कम हुँदै गएको छ। रुपन्देहीका अस्पतालमा शय्या खाली नभए पनि अक्सिजनको सहज आपूर्ति र बिरामीको चाप केही कम भएकाले उपचार सहज बन्दै गएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा नन्दु पाठकले बताए।
रासस