काठमाडौं - नेपाल जनस्वास्थ्य संघले मध्यावधि निर्वाचन रोक्न माग गरेको छ। निर्वाचनको गतिविधिका कारण कोरोना संक्रमण फैलिने जोखिम हुने भन्दै संघले मध्यावधि निर्वाचन रोक्न माग गरेको हो।
संघले विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचन रोक्न नागरिक समाज, बुद्धिजिवी सबैलाई एकवद्द भएर लाग्न अपिल समेत गरेको छ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य संकटकाल घोषणा गरी देशको सम्पूणर् ध्यान महामारी नियन्त्रणका लागि केन्द्रित गनुपर्नेमा देशलाई निर्वाचन तर्फ धकेल्नु अध्यादेशको मर्म विपरित छ।’
महामारीको समयमा निर्वाचन गर्दा संक्रमणको तेस्रो लहर आउने जोखिम बढेर जाने र हजारौँ नेपालीको ज्यान जाने संभावना हुने संघको भनाई छ।
‘राष्ट्रिय निर्वाचनका गतिविधिका कारण एकातिर महामारी फैलिने उच्च जोखिम छ भने अर्को तर्फ यसबाट राज्यका सबै संयन्त्र निर्वाचन सञ्चालन गर्नका लागि परिचालन हुने हुँदा महामारी नियन्त्रण तथा रोकथामका गतिविधि प्रभावकारी हुन सक्दैन।’ विज्ञप्तिमा भनिएको छ।
निर्वाचनको खर्चले देशको अर्थतन्त्रमा असर परी कोभिड खोप तथा महामारी नियन्त्रणका लागि स्रोतको अभाव समेत हुने विज्ञप्तिमा उल्लेख छ।