बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।
कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्।
अस्पतालका प्रमुख डा वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकामा नौवटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भइरहेका छन्।
यसैबीच नेपाल इञ्जिनीयर्स एशोसिएशन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ। अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो।
एशोसिएशनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले अस्पतालका प्रमुख डा वसन्तराज जोशीलाई हस्तान्तरण गरेका हुन्।
अस्पतालमा हाल साना–ठूला गरेर ३१ वटा अक्सिजन सिलिण्डर छन्। पछिल्लो समय अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले तत्कालका लागि अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ। अस्पतालमा हाल चार जनामात्रै कोरोनाका बिरामी भर्ना छन्। जिल्लामा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ७०० सक्रिय अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।
राससका बैतडी समाचारदाता विनोदसिंह विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग सङ्कलन अभियानमा सहयोग गर्नुभएको छ। जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सञ्चालन गरेकोमा रु दुई हजार ८२९ प्रतिष्ठानको खातामा विष्टले जम्मा गरेका हुन्।
जेठ २ गतेदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म रु आठ लाख ६२ हजार ९५९ सङ्कलन भइसकेको प्रतिष्ठानले जनाएको छ। उक्त सङ्कलित रकम अक्सिजन आपूर्तिलगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ता महेश भट्टले बताए।
रासस