नेपालगञ्ज- भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि छानबिन गर्न समिति गठन भएको छ। अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि बिहीबार राती आक्रमण गरेका थिए।
उक्त घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरिन्।
गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए।
उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन्। मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो। बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ। बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन्।
ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिइन्। घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन्। घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थिए।
अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारबाही हुनुपर्ने माग राखेका छन्। चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।