काठमाडौं– नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राती भएको घटनालाई कालो दिनको रुपमा घोषणा गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो।
कोरोना महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि अग्रपंक्तिमा रहेर उपचारमा खटिरहेको अवस्थामा पनि उनीहरु माथि दुुर्व्यवहार र कुटपिट जस्ता अवान्छित क्रियाकलापहरुले असुरक्षित वातावरण बनाएको भन्दै संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ।
भेरी अस्पतालमा बिहीबार राति ड्युटीमा रहेका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात गर्ने, घाँटी थिचेर लखेटी लखेटी पिट्ने र अस्पतालमा समेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले स्वास्थ्यकर्मी असुरक्षित रहेको जनाएको छ।
संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुन अनुसार कारबाही गर्न माग समेत गरेको छ।