काठमाडौं– गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
बिहीबार राती भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्युपछि चिकित्सक तथा नर्समाथि हातपात र भौतिक आक्रमण भएको छ। उक्त घटनापछि गृह मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता जनकराज दाहाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइएको जानकारी दिएका हुन्।
बिहीबार राती भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युु भएको घटनालाई लिएर वार्डमै प्रवेश गरी चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमण भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ।
कोभिड महामारीको विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय भएको मन्त्रालयको ठहर छ।
भेरी अस्पतालमा भएको घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको कार्य प्रारम्भ भई सकेको पनि पनि प्रवक्ता दाहालले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
गृह मन्त्रालयका प्रवक्ता दाहालका अनुसार उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानविन गर्न बिहीबार राती नै जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबीन समिति गठन भई छानवीनको कार्य प्रारंभ भई सकेको छ।
कोभिड–१९ उपचार नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीहरुबाट निर्वाह भएको भूमिका र योगदानलाई हामी सबैले मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने गृह मन्त्रालयल जनाएको छ।
देशका विभिन्न अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु माथि बिरामीका आफन्तहरुबाट दुर्व्यवहार भएको, अस्पताल भित्र तोडफोड भएको, स्वास्थ्यकर्मीहरुमाथि अनावश्यक दवाब दिने गरेको भन्ने जस्ता जानकारीहरु प्राप्त भएको मन्त्रालयका प्रवक्ता दाहालको भनाइ छ।
बिरामीको मृत्युको विषयलाई लिएर स्वास्थ्यकर्मी माथि आक्रमण र स्वास्थ्य संस्थामा तोडफोड गर्ने कार्य आफैमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको गृह मन्त्रालयको ठहर छ।
यस्तो कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गर्ने कुरामा गृह मन्त्रालय दृढ रहको जनाइएको छ।
गृह मन्त्रालयले यसअघि बाँके लगायत सोलुखुम्बु, धनुषा, कास्की तथा मोरङ जिल्लामा यस्ता घटनामा संलग्न व्यक्ति उपर कानून बमोजिम कारबाही गरिएको पनि जनाएको छ।
आगामी दिनमा उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा प्रत्याभूति तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा गम्भीरताका साथ लागिरहेको भन्दै गृह मन्त्रालयले संयमताका साथ बिरामीको उपचार कार्य जारी राख्न पनि आग्रह गरेको छ।
