काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको बताएका छन्।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले खोप खरिदका बजेट अभाव नभएको भन्दै अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको बताए।
विश्वमा खोपको असमान वितरण डरलाग्दो समस्याका रुपमा रहेको भन्दै उनले खोप खरिदका लागि बजेट सुनिश्चत भएपनि असमान वितरणका कारण नै खोप समयमै उपलब्ध हुन नसकेको जानकारी दिए।
मन्त्री ज्ञवालीले भने, ‘खोपको असमान वितरण डरलाग्दो रुपमा छ। हामीसँग बजेटको कुनै अभाव छैन। तर खोपको असमान वितरणका कारण नै खोप उपलब्ध हुन समस्या हुने गरेको छ।’
९५ प्रतिशत खोप १५ वटा देशमा मात्र सीमित हुने गरेको उनले जानकारी दिए। १६० देशहरुले मात्र ५ प्रतिशत खोपबाट नै अभियान चलाउनु परेको उनले बताए। खोपको न्योचित वितरणका लागि संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठन, ग्लोबल अलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेनश (गाभी) लगायत संगठनसँग पहल गरिरहेको उनले बताए।
‘खोपको न्यायोचित वितरणका लागि हामीले युएन, डब्लुएचओ, गाभी लगायत संगठनसँग कुटनीतिक पहल गरिरहेका छौँ’ उनले भने, ‘हामीसँग पैसा पनि छ। बजेटमा खोपलाई प्राथमिकतामा राखिएको छ। हामी खोप खरिद गर्न चाहन्छौ। तर उत्पादकले कति दिन सक्छन् र उपलब्ध गराउँछन् भन्ने हो।’