जुम्ला- नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति जुम्लाले राप्ती भेरी प्रादेशिक अस्पताल नेपालगंजमा बिरामीको कुरुवाद्धारा स्वास्थ्यकर्मी तथा चिकित्सक माथि गरिएको सांघातिक आक्रमण प्रति ध्यानाकर्षण भएको जनाएको छ।
जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए। ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय भएको जनाएको हो।
एक प्रेस विज्ञप्ति निकाल्दै चिकित्सक संघ जुम्लाले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई हदैसम्मको कार्वाही जोडदार माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘संसारभरी फैलिएको कोभिड महामारी बीचमा जनताको स्वास्थ्यको रक्षाका लागी सीमित जनशक्तिका बाबजुद आफ्नो स्वास्थ्यको परवाह नगरी २४ घण्टा खटिएर सेवा दिदै गरेको अवस्थामा बिरामीको कुरुवाद्वारा गरिएको सांघातिक आक्रमण निन्दनीय छ। घटनाको सत्यतथ्य छानबिन गरि दोषी लाई हदै सम्मको करवाहिका लागी हामी जोडदार माग गर्दछौं।’
विभिन्न समयमा स्वास्थ्यकर्मीको मनोबल घटाउने गरि हुने यस किसिमका घटनाहरू नियन्त्रणका लागी अपराधीलाई ‘जेल विथ आउट बेल’ को कानून कार्यान्वयन लागु गर्न माग गरिएको छ।