काठमाडौं - विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको उपचारका लागि दुर्गा प्रसाईको सहयोग नलिने उनका परिवारले बताएका छन्।
थापाको स्वास्थ्य अवस्था कोभिड-१९ का कारण गम्भीर बन्दै गएको छ। उनको अवस्था गम्भीर बन्दै गएपछि सहयोग संकलन थालिएको छ।
रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले विज्ञप्ति जारी गर्दै थापाको उपचार खर्च व्यहोर्ने निणर्य गरेको जानकारी दिएका थिए।
तर, थापाको परिवारले प्रेस विज्ञप्ति जारी गरी आर्थिक सहयोग जुटिरहेको भन्दै उपचारका लागि सहयोग नलिने बताएका हुन्। हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २ सय ९१ र नेपालमा २६ लाख ५० हजार संकलन भएको र त्यसैले उपचार गर्ने परिवारले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरुबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकाले दुर्गा प्रसाईलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ।’
कोरोना भएपछि उज्वल थापा करिब दुई सातादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचाररत छन्। त्यहाँ उनको इसीएमओ प्रविधिबाट उपचार भइरहेको छ।
चिकित्सकको सल्लाह अनुसार उनलाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि त्यसको लागि उनका परिवार तथा शुभेच्छुकहरुले आर्थिक सहयोग जुटाइरहेका छन्।