काठमाडौं- अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र आक्रमण हुने क्रम बढेपछि नेपालगञ्जको भेरी अस्पतालमा सुरक्षा थप बढाइएको छ।
अस्पतालमा आजदेखि प्रहरी नायव निरीक्षक (सई)को कामाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक (असई) सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाइएको छ।
बिहीबार राती दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आइसियु कक्षमा खटिएका डाक्टर र नर्समाथि हातपात गरेका थिए।
धेरै व्यक्तिले भौतिक आक्रमण गर्दै घाँटी थिच्न आएपछि ड्युटीमा खटिएका चिकित्सक तथा नर्सले ट्वाइलेटको झ्यालबाट हाम्फालेर ज्यान जोगाएका थिए।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा प्रकाश थापाले शुक्रबार बुटवलबाट नेपालगन्ज पुगेका नेपाल प्रहरीका डीआइजीसहितको बैठकले अस्पतालमा पूर्ण सुरक्षा दिने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि अस्पतालका सबै सेवा यथावत सञ्चालनमा आएको बताए।
उनले भने, ‘फेरी पनि यस्ता घटना नदोहोरिऊन भन्नका लागि स्वास्थ्य सुरक्षा ऐन ल्याएर यस्तो कार्य गर्ने दोषीलाई बिना धरौटी छानबिन गर्ने व्यवस्था हुनु जरुरी छ। हाम्रो त्यो माग यथावत छ।’
उनले आन्दोलनमा उत्रिएका अस्पतालका सबै स्वास्थ्यकर्मी काममा फर्किएको र नयाँ बिरामी भर्ना लिने काम पनि नरोकिएको बताए।