काठमाडौं– सरकारले आठ प्रकारको कडा रोगका बिरामीको स्वास्थ्य उपचारमा दिँदै आएको सहुलियतलाई निरन्तरता दिएको जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आठ प्रकारका कडा रोगका बिरामीको उपचारमा सहुलियतका लागि २ अर्ब ५० करोड विनियोजन गरेको जानकारी दिए ।
मन्त्री पौडेलले क्यान्सर, मुटु रोग, पार्किन्सन, मिर्गौला रोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचार गर्न प्रदान गरिने अनुदान र १४ वर्षमुनिका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मुटुरोगको नि:शुल्क उपचार सुविधको लागि उक्त बजेट विनियोजन गरेको बताए।
यस्तै स्वास्थ्य उपचारका लागि बिदेश जानुपर्ने बाध्यताको अन्त्यका लागि काठमाडौंको कीर्तिपुरमा नेफ्रोलोजी, युरोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, सपाइनल सर्जरी, कार्डियोलोजी, कार्डियोसर्जरी, पल्मनोलोजी, ग्यास्ट्रोइटेरोलोजी र ग्यास्ट्रो सर्जरी लगायतका रोगका विशिष्टकृत उपचार सेवा र डाइग्नोसिस सेन्टर र अध्ययन अध्यापनका लागि १ हजार ५ सय शय्याको अत्याधुनिक सुपरिस्पेसलिस्ट केन्द्रको निर्माण कार्य सुरु गरिने मन्त्री पौडेलले जानकारी दिए।
उनले सो केन्द्र आगामी तीन वर्षभित्र निमार्ण काय सम्पन हुने गरी योजना बनाइ बजेट विनियोजन गरिएको पनि जानकारी दिए।