काठमाडौं- नेपाल चिकित्सक संघले अस्पताला चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणको घटना बढ्दै गएको भन्दै गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग गरेको छ।
संघले आजको मितिले ७ दिनभित्र अध्यादेश माफर्त गैर जमानती अपराधको कानुन बनाइ स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सोही कानुन अनुसार कारबाही गर्न माग गरेको हो।
संघले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कोभिड रोकथाम नियन्त्रण र उपचारको कार्यमा बाधा अवरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुको कार्यसम्पादनमा बाधा अपरोध गर्नेलाई हुने सरहको प्रचलित कानुन अनुसार कारबाही गर्न समेत माग गरेको छ।
कोरोना महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन नभएको र कार्यस्थलमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको संघले जनाएको छ।
संघले भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि आक्रमण भएको जेठ १३ गतेलाई कालो दिनको रुपमा घोषण समेत गरिसकेको छ।
सरकारले गैरजमानती अपराधको कानुन बनाए मात्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कमी आउने समेत जनाएको छ।