काठमाडौं- होम आइसोलेसनमा तथा क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुले अब टेलीमेडीसीन मार्फत सेवा लिन पाउने भएका छन्।
नेपाल चिकित्सक संघले टेलीमेडीसीन सेन्टरको स्थापना गरेसँगै उनीहरुले यो सेवा लिन पाउने भएका हुन्। कोरोना संक्रमितहरुको उपचार प्रक्रियामा सहजीकरणका लागि भन्दै संघले विभिन्न संस्थाहरुसँगको सहकार्यमा टेलीमेडीसीन सेन्टरको स्थापना गरेको छ।
संघले विज्ञप्ति जारी गरी नेपाल चेम्बर्स अफ कमर्सको मुख्य प्रायोजन, साल्ट ट्रेडिंग कर्पोरेसन र इश्वरलाल प्रतिष्ठानको सहप्रायोजन तथा मिडास टेक्नोलोजी प्रा.लिको प्राविधिक सहयोगमा टेलीमेडीसीन सेन्टरको स्थापना गरिएको जनाएको छ।
कोरोना संक्रमण भई होम आइसोलेसन र क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई आवश्यक स्वास्थ्य सल्लाह र उपचार प्रक्रियामा सहजीकरणका लागि टेलीमेडीसीन सेवा सुरु गरिएको संघले जनाएको छ। कोरोना संक्रमित तथा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले सोमबार टेलीमेडीसीन सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ।
बिरामीहरुले मोबाइल,ल्यापटप मार्फत कुनै पनि समय र स्थानबाट यो सेवा लिन सक्नेछन्। एन्ड्रोइड फोन भएकाहरुले गुगल प्ले स्टोरबाट Mero Docter एप डाउनलोड गर्नुपर्नेछ। आइओएस फोन भएकाहरुले भने एप्पल स्टोरमा गई यो एप डाउनलोड गर्न सक्छन्। साथै ल्यापटप प्रयोग गर्नेहरुले www.merodocter.com मा पनि सेवा लिन सकिने संघले जनाएको छ।
कसरी लिने टेलीमेडीसीन सेवा?
– बिरामीहरुले मोबाइल अथवा ल्यापटप मार्फत कुनै पनि समय र स्थानबाट यो सेवा लिन सक्नेछन्।
– यदी एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Docter एप डाउनलोड गर्न सकिन्छ। आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Docter एप डाउनलोड गर्न सक्नेछन्।
– ल्यापटप वा डेस्कटपबाट सेवा लिन चाहेमा www.merodocter.com टाइप गरेर यो सेवा लिन सकिनेछ।
– कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनीक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिन्छ।
– मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodocter.com ले तपाईलाई थप मद्दत गर्नेछ। तपाईहरुको सजिलोका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ।
– ९८४७६९११२९, ९८२३०१२५८१, ९८४७३९३१५३, ९८४७३९६५३६ नम्बरहरुमा सम्पर्क गर्न सकिन्छ।