काठमाडौं– केयर नेपालले स्वास्थ्य सेवा प्रवाह र कोभिड–१९को उपचार र नियन्त्रणमा सहयोग पुर्याउन समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १ करोड ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य तथा सरसफाइ सामाग्री हस्तान्तरण गरेको छ।
विगत ४२ वर्षदेखि विभिन्न रुपमा नेपाल सरकारको विकास योजनामा साझेदारी गर्दै आएको केयर नेपाल हालको महामारीमा पनि सरकारको साझेदार हुन पाएकोमा गौरभान्वित भएको बताएको छ।
कोभिड १९को संक्रमणको पहिलो लहरमा पनि केयर नेपालले मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका अन्य विभिन्न सहयोग गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले केयर नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि केयर जस्तो संस्थाको निरन्तर साथ रहने विश्वास गरे।
साथै समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले छोटो समयमा पनि केयर नेपाललगायत अरु अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुले सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएर निकै प्रशंसनिय काम गरेको बताए।
सरकारसँगको सहकार्य निरन्त रहने बताउँदै केयर नेपालकी कार्यवाहक राष्ट्रिय निर्देशक मोना शेर्पाले महामारीकोे असरलाई न्यूनिकरण गर्दै सुधार गर्न, रोग नियन्त्रण र रोकथाम गर्न र महिला, किशोरी र सिमान्तकृत समुदायलाई परेको आर्थिक भारका लागि दिर्घकालीन पुनर्लाभका लागि कार्य गरिने बताइन्।