जुम्ला- जुम्लामा दुई साताको अन्तरालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गराइरहेका कालिकोट तिला गुफाका २, सुर्खेत घर भइ कालिकोटमा व्यवसाय गर्दै आएका एक जना र जुम्लाका दुई जना संक्रमितको मृत्यु भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा रमेश भट्टराइले आइतबार दिउसो एक जना महिलाको मृत्यु भएको बताए।
उनले गुठिचौर गाउँपालिका ३ की ७० बर्षीया एक महिलाको मृत्युसंगै हालसम्म पाँच जनाको मृत्यु भएको जानकारी दिए।
'उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन। उनलाई श्वासप्रश्वासको समस्या थियो। अक्सिजनको मात्रा निकै कम थियो,' प्रवक्ता भट्टराइले भने, ‘अक्सिजन दिएर भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो। बचाउनको लागि अधिकतम प्रयास भएको थियो। तर बचाउन सकिएन।’
कोरोना संक्रमणका कारण मृतकको संख्या बढिरहेकोले सचेत रहन आग्रह गरिएको प्रवक्ता भट्टराइले जानकारी दिए।
एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ। हाल प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमितको उपचार भइराखेको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार वैशाख ८ देखि हाल सम्म संक्रमितको संख्या ४ सय ८ जना रहेको छ। निको भएर घर फर्किनेको संख्या १ सय ८१ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।