धनगढी- धनगढीमा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो।
अस्पतालको एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे। अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने जनाएको छ।
प्रदेशमा कोरोना बढेपछि सुदूरपश्चिम सरकारले सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन आग्रह गरेको थियो। सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ। अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण भएको हो। अस्पताल सञ्चालनमा आएसगै सुदूरपश्चिम प्रदेशका सैनिक र उनीहरूका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ।