काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले सस्तो दरको पोष्ट कोभिड प्याकेजको घोषणा गरेको छ।
कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको जनाएको छ।
अस्पतालले कोभिड पछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले सस्तो दररेटको प्याकेज घोषणा गरेको जनाएको हो।
नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ। सस्तो दररेटको प्याकेज रु. ७ हजार ५०० मै उपलब्ध गराइने अस्पतालले जनाएको छ।
यो प्याकेजअन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ। यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ।
यस्तै, चेस्ट एक्सरेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ। सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।
यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ।
यस्तै, सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ।
नर्भिक अस्पतालले केही दिनअघि मात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निश्कर्ष सहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात गरिसकेको छ।
सोही क्लिनिकमा बिरामीहरुले प्याकेज अन्तगरतको सेवा पाउनेछन्।
नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा कोभिड पछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ।
कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गरेको डा जैसवालले बताए।। यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल आउन उनले सुझाव दिएका छन्।