काठमाडौं- सूर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि भएका कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।
विश्व नो टोबाको डे को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपाल र द युनियन एसिया प्यासिफिक रिजनले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरकारले कानून राम्रो ल्याएपनि कार्यान्वयन निकै फितलो रहेको भन्दै उनीहरुले कार्यान्वयनमा ध्यान दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदासम्म सूर्तिजन्य पदार्थको प्रयोग घट्न नसक्ने बताए। सरकारी स्तरबाट मात्र नभई सबै तहबाट अभियान नै सञ्चालन हुनपर्नेमा उनको जोड छ।
नेतृ रामकुमारी झाक्रीले सूर्तिजन्य पदार्थको आयातलाई नै रोक्नुपर्ने बताइन्। यसको प्रयोग घटाउन ऐन कानूनको कार्यान्वयन गर्नुको विकल्प नभएको उनको भनाई छ। नीति निर्माण तहदेखि विद्यालय तहसम्म जनचेतना फैलाउन आवश्यक भएको उनले बताइन्।
यस्तै, राष्ट्रिय सभा सदस्य कोमल वलीले कानूनको प्रभावकारी कार्यान्वयन नभएसम्म यसबाट प्रतिफल प्राप्त गर्न नसक्ने बताइन्। सरकारले प्रयोगकर्ता घटाउनुका साथै यसको लतबाट घटाउने तर्फ पनि कार्यक्रम ल्याउनुपर्ने बताइन्। परामर्शले मात्र सूर्तिजन्य पदार्थको लत घटाउन नसकिने भन्दै उनले सरकारले त्यसको विकल्प पनि अघि सार्नुपर्ने बताइन्।
द युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा तारासिंह बमले सरकार कानून कार्यान्वयन तर्फ उत्तरदायित्व हुनुपर्ने बताए। स्थानीय, प्रादेश र केन्द्रीय सरकारले समन्वयात्मक भूमिका निर्वाह गरी अघि बढे यसका प्रयोगकर्ता घटाउन र प्रयोगलाई न्यूनीकरण गर्न सकिने उनले बताए। सरकार कानून कार्यान्वयन तर्फ गम्भीर नदेखिएको भन्दै उनले सूर्तिजन्य पदार्थका उद्योगहरुसँगको सम्बन्ध अन्त्य गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले युवाहरुले २/३ वटा चुरोट सेवन गरेको केही वर्ष भएपनि ह्रदयघात हुने जोखिम हुने बताए। युवाहरुलाई लक्षित गरी सरकारले चुरोट लगायत सूर्तिजन्य पदार्थको प्रयोग घटाउनका लागि कार्यक्रम ल्याउनुपर्ने बताए। धुम्रपानले सबैभन्दा बढी मुटुलाई असर गर्ने बताउँदै उनले धुम्रपानको सेवनले युवाहरुमा ह्रदयघातको समस्या तिव्र गतिले बढ्दै गएको जानकारी दिए।
मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाहले सूर्तिजन्य पदार्थको प्रयोग जुन मात्रामा घट्नुपर्ने हो त्यसो हुन नसकेको बताइन्। सरकार गम्भीर भएर यसको प्रयोग न्यूनीकरणका लागि लाग्नुपर्नेमा उनको जोड छ। सूर्तिजन्य पदार्थमा गरिएको लगानी अन्य सामाजिक कार्यमा लगाउन सरकारले पहल गर्नुपर्ने उनको भनाई छ।
सूर्तीजन्य पदार्थको प्रयोगले नेपालमा वर्षेनी २७ हजार १ सय ३७ जना मानिसको मृत्यु हुने गरेको छ। नेपालमा १५ देखि ६९ वर्षका ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको सरकारी तथ्यांक छ।