काठमाडौं– काठमाडौंमा ९३ वर्षकी एक बृद्धा कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएकी छन्। काठमाडौंको सिनामंगल बस्दै आएकी ९३ वर्षीया सुशीला भुजल कोरोना संक्रमणमुक्त भएर आइसोलेसन सेन्टरबाट घर फर्किएकी हुन्।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बस्दै आएकी थिइन्।
२४ दिनपछि आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन्। कोरोना संक्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको उनले बताइन्। ‘यहाँ आएदेखि बाट केही भएको छैन। खाने, बस्ने, सुत्ने। डाक्टरले सोध्नुहुन्छ, जहिल्यै नि राम्रो छ। दुख्ने, पोल्ने घटीबढी केही छैन,’ उनले भनिन्।
कोरोना संक्रमण हुँदा आफूलाई कुनै डर नलागेको उनले सुनाइन्। ‘९३ वर्षको मान्छेलाई केको डर ? कोरोना भन्छन्, के भन्छन्। म त लग्दे हुन्थ्यो, फुत्त जरो स्वरो केही आएर भन्छु। खोई ?’ उनले भनिन्।
युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ। हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको ‘युथ फर नेशन’का संयोजक लेनिन बिष्टले बताए।