काठमाडौं- आफन्तको मृत्युपछि नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्सलाई हातपात तथा आइसीयू तोडफोड गरेको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
समितिले सोमबार साँझ ५ बजे बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो।
गत बिहीबार भेरी अस्पतालको कोभिड आइसमीयूा उपचाररत दाङका संक्रमितको मृत्यु भएपछि उनका आफन्तले प्रधानमन्त्री र मुख्यमन्त्रीको पावर देखाउँदै चिकित्सक र नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए।
आफू एमालेका नेता भएको भन्दै उनीहरुले राजनीतिक पावरको बलमा स्वास्थ्यकर्मीसँग मृत्युको बदला लिने धम्की पनि दिएका थिए।
आइसीयूमा खटिएका नर्सको घाँटी थिच्न आएपछि नर्स र डाक्टरले ट्वाइलेको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए।
उक्त घटना भएको भोलिपल्ट घटनाका सम्बन्धनमा छानबिन गरी तीन दिन भित्र प्रतिवेदन बुझाउन सहयक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोकत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक, अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डाक्टर विनोद कर्ण, धनराम ओली, डाक्टर रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिविक्रम शाह सदस्य रहेको समिति गठन भएको थियो। उक्त समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो।
भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले घटना विवरण र सुझावसहितको प्रतिवेदन सोमबार साँझ प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाएको जानकारी दिए।
उनले भने,‘हामीले सम्बन्धित सबै पक्षसँग कुराकानी गरेका छौँ। अस्पतालमा रहेको सीसी क्यामेराका फुटेज, अस्पतालका विभिन्न विभागका व्यक्तिहरु, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी प्रतिवेदन तयार गरी बुझाएका छौँ।
उनले दोषिलाई कुनै पनि हालतमा कारबाही हुने बताउँदै उक्त प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेपछि अदालतमा जाने बताए।
भेरी भएको सो घटनापछि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले दोषिलाई कडा कारबाहीको माग राख्दै स्वास्थ्य संस्था सुरक्षा ऐन र जेल विथआउट वेलको व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन्।