फाइल तस्बिर
जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतवाडा गाउँमा २७ जनालाई कोरोना परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गाउँमा कोरोना जस्तै लक्षण भएका दुई दर्जन बढी नागरिक बिरामी थिए। सबैलाई एन्टीजेन परीक्षण गरिएको थियो।
कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामी फेला परेपछि सम्बन्धित वडाको समन्वयमा एन्टीजेन परिक्षण गरिएको वडाध्यक्ष विशाल खड्काले बताए। उनले भने ‘गाउँमा सिकिस्त बिरामी मध्ये २७ जनालाई एन्टीजोन परीक्षणका लागि कोभिड अस्पतालमा पठाइएको थियो।’
खड्काका अनुसार बिरामी परेका नागरिकमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन्। ‘बिरामीको संख्या बढ्न थालेपछि हामी निकै संवेदनशील भएका छौं। बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परीक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ,’ उनले भने।
उनले ५५ घरधुरीमा झण्डै ३५ जना बढीमा यो लक्षण देखिएको बताए। एन्टीजेन परिक्षण गरेर कोरोना पोजिटिभ भएका बिरामीलाई गाँउपालिकाले बनाएको संस्थागत आइसोलेसनमा राखिएको छ।
सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन्। केही समयअघि रावतवाडमा काठमाडौं, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएका थिए।
तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा बिरामी भएको थाहा पाएपछि आजै (मंगलबार) २७ जनालाई एन्टीजेन परीक्षण गर्दा ९ जना कोरोना संक्रमण देखिएका बताए। उनले भने,‘गाउँका बिरामीको औषधि उपचारदेखि एन्टीजेन र पिसिआर परिक्षणका लागि स्वास्थ्य शाखा लागिरहेको छ। गाउँमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालनमा गर्न आग्रह गरिएको छ।’