धनगढी- गेटा मेडिकल कलेजमा निर्माण गरिएको कोरोना स्याहार केन्द्रलाई आयुर्वेदिक औषधि वितरण गरिएको छ।
कोरोना संक्रमित बिरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगीको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले औषधि वितरण गरेको हो।
प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डाक्टर खगेन्द्र वमका अनुसार कोरोना स्याहार केन्द्रलाई अस्वगन्धा र जेठी मधु वितरण गरिएको छ। ‘दुई वटै आयुर्वेदिक औषधि कोरोना संक्रमितका लागि देशभर प्रयोग भइरहेका छन्’ निर्देशक वमले भने– ‘भारतमा पनि यो औषधिको प्रयोग भइरहेको छ।’
अस्वगन्धाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई रोगीलाई छिटो संक्रमणमुक्त बनाउन सहयोग पुग्नेको छ भने जेठी मधुले कफ हटाई खोकी निको पार्ने तथा घाँटीमा देखिने अन्य समस्या निको पार्न समेत काम गर्ने गरेको वमले बताए। यी औषधिको सेवनले अन्य रोगसंग लड्ने क्षमताको समेत विकास गर्ने उनले जानकारी दिए।
कोरोना स्याहार केन्दका संयोजक तथा गोदावरी नगरपालिकाका प्रवक्ता शर्मा भट्टले आयुर्वेदिक औषधिको प्रभाव राम्रो हुने गरेको बताए।
‘पहिलो चरणमा कोरोना संक्रमण फैलिँदा क्वारेन्टाइनमा रहेका नागरिकलाई आयुर्वेदिक औषधि वितरण गरेका थियौं’ उनले भने ‘जसका कारण धेरै बिरामी सहजै निको भएका थिए, अहिले पनि हामीले रोगीलाई आयुर्वेदिक औषधि दिने गरेका छौं।’ उनले तत्कालका लागि स्याहार केन्द्रमा रहेका ९ जना बिरामीलाई आयुर्वेदिक औषधि वितरण गरिने बताए।