काठमाडौं- भक्तपुर नगरपालिकामा १६ हजारभन्दा बढीले कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।
नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्नसुन्दर लासिवाले बताए।
नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भेरोसेलको पहिलो मात्रा गत वैशाख ४ गतेदेखि १५ गतेसम्म जनस्वास्थ्य केन्द्र च्याम्हासिंह, इवामुरा अस्पताल र सिद्धिस्मृति अस्पतालमा दिएको थियो। पहिलो मात्रा लगाएका सबैलाई अहिले दोस्रो खोप लगाइएको केन्द्रले बताएको छ।
खोपको पहिलो मात्रा लगाएर कोभिड संक्रमण भई स्वास्थ्यलाभ गरिरहेकालाई एक महिना पूरा नभई दोस्रो मात्रा दिन नहुने प्रष्ट पार्दै डा लासिवाले यस्ता व्प्यक्तिलाई अलग बन्दोबस्त गरिने जानकारी दिए।
रासस