जुम्ला- युगान्डामा बस्ने नेपालीले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लालाई अक्सिजन सिलिण्डर पठाएका छन्। उनीहरुले तीन लाख रुपैयाँ बरावरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन्।
कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुन थालेपछि युगान्डामा रहेका नेपालीले कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।
अफ्रिकामा रहेका हिक्मतबहादुर थापाको पहलमा गैर आवासिय नेपाली संघ युगान्डाले अक्सिजन सिलिण्डर पठाएको हो। गैर आवासीय नेपाली संघ युगान्डाका अध्यक्ष सुधिर रुपालियाले पहिलो चरणमा १० वटा सिलिण्डर पठाएको बताए।
‘कर्णालीमा रहेका संक्रमितको अवस्थालाई मध्यनजर गर्दै अर्को चरणमा थप १० वटा सिलिण्डर पठाउने तयारी गर्दैैछौं,’ उनले भने।
अध्यक्ष रुपालिया युगान्डाका लागि नेपाल सरकारको मानार्थ बाणिज्य दुत समेत हुन्। युगान्डामा रहेका नेपालीले पठाएको अक्सिजन सिलिण्डर नेपाली सेना नं. २४ अड्डा बाहिनीका बाहिनीपति यामबहादुर सापकोटाले अस्पतालका निर्देशक डा राजिव शाहलाई हस्तान्तरण गरेका हुन्।
बाहिनपति सापकोटाले गैरआवासीय नेपाली संघ युगान्डाले कर्णालीका बिरामीका लागि पठाएको अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको बताए। उनले भने,‘विदेशमा रहेका नेपालीले आफ्नो कमाइबाट पठाएको यो सिलिण्डरले कर्णालीका बिरामीलाई राहत मिल्नेछ। अक्सिजनको अभाव झेलिरहेको बेला विदेशमा रहेका नेपालीको उपहारस्वरुप अक्सिनन आउनु निकै राम्रो हो।’ गैर आवासीय नेपाली संघ युगाण्डा र अफ्रिकाको दांङगोटे कम्पनीमा कार्यरत कैलाली टिकापुरका हिक्मतबहादुर थापाले कर्णालीको स्वास्थ्य क्षेत्रमा गरेको योगदान अविस्मरणीय हुने उनले बताए।
‘नेपालमा कोभिड प्रकोप फैलियो। अक्सिजनको चरम अभाव भयो। जुम बैठकमा कर्णालीलाई केही सहयोग गर्न सकिन्छ की भनेर प्रस्ताव राखियो,’ बाहिनीपति सापकोटाले भने,‘अछाम र सुर्खेतमा अक्सिजन पठाउने क्रममा जुम्ला अस्पतालका लागि पनि १० सिलिण्डर पठाउनु भएको छ। यो युगान्डामा रहेका नेपालीले कर्णालीको स्वास्थ्य क्षेत्रमा गरेको योगदान हो। कर्णालीबासीले उनीहरुलाई धन्यावाद दिनैपर्छ।’
१५ दिन अगाडी जुम बैठकमा कोरोना महामारीमा कर्णालीको स्वास्थ्य अवस्थाका बारेमा छलफल भएको थियो। बैठकमा बाहिनीपति सापकोटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल सहभागी थिए। त्यो बैठकको प्रभावले नै कर्णाली अस्पतालमा अक्सिजन पुगेको हो।
अस्पताल निर्देशक डा शाहले अब कर्णाली अस्पतालमा २१० अक्सिजन सिलिण्डर भएको बताए।