काठमाडौं– आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अनर्गल आरोप लगाएको भन्दै वीरगञ्ज प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का २४ वर्षीया सौरभ साह रहेका छन्। प्रहरीले साहलाई मंगलबार पक्राउ गरेको हो।
साहले वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई स्वास्थ्यकर्मीको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गरेको भन्दै स्वास्थ्यकर्मीले जायरी दिएका थिए । सोही जायरीको आधारमा साहलाई पक्राउ गरिएको हो।
साहले आफूलाई सञ्चारकर्मी तथा समाजिक अभियन्ता भनी फेसबुक ग्रुपपेज समेत चलाएर स्वास्थ्यकर्मीलाई विभिन्न आरोप लगाएको प्रहरीले जनाएको छ।
साहलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।