जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका ६ रावतबाडा गाउँ एक साताको लागि सिल गरिएको छ। गाउँमा कोरोना लक्षण भएका बिरामी बढेपछि गाउँ नै एक साताको लागि सिल गरिएको हो।
गाउँपालिका स्तरीय कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले रावतबाडा गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।
उनका अनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन। रावतबाडा र खड्काबाडा बीच आवतजावत पनि बन्द गरिएको छ। यी दुबै जोडिएका गाउँ हुन। गाउँमा कोरोना संक्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपाने बताउँछन।
मंगलबार गाउँका २७ जनामा एन्टीजेन परिक्षण गरेकोमा ९ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले बुधवार गाउँका ५५ घरधुरीका १ सय ९ जनाको पीसिआरका लागि स्वाब संकलन गरिएको बताए। परिक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन।
गाउँमा कोरोना संक्रमण भयाभह हुन सक्ने अवस्था आयो। गाउँपालिका अध्यक्ष न्यौपानेले भने,‘ गाँउ नै सिल गर्ने निर्णय भयो।’ विगत एकसातादेखि गाउँमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो।
एकैपटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो।
यस अघि रावतबाडा गाउँमा विवाह लगायतका सामूहिक गतिविधि तीब्र भएका थिए। काठमाण्डौँ, सुर्खेत र भोजपुर लगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए। ढिलो भएपनि गाउँपालिकाले गाउँलाई प्राथमिकतामा राखेर कोरोना चेकजाँच गराएकोमा स्थानीय खुसि छन्। उनीहरुले गाउँमा फैलिएको कोरोना नियन्त्रण तथा रोकथाम गर्नको लागि सक्रियता देखाउन आग्रह गरेका छन। खड्काबाडा र रावतबाडामा पाँच पाँच जना स्वयमसेवक समेत खटाइएको छ।
गाउँमा कोरोना लक्षणका बिरामी बढेको थाहाँ पाएपछि वडाध्यक्ष विशाल खड्का स्वास्थ्यकर्मी सहित गाउँमा पुगेका थिए।
उनले बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टीजोन परिक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाएका थिए। पुर्व राज्यमन्त्री गोमा कुँवर गाउँमा मास्क र सावुन लिएर गाउँमा पुगेकी थिइन्।
उनले कोरोना संक्रमण रोकथाम गर्न स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरिन्। गाउँमा कोरोना संक्रमण फैलिएपछि नजिकैका बस्तीमा त्रास सिर्जना भएको छ।
गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिध र कर्मचारी पुगेर सचेतना फैलाउने देखि लक्षण अनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाइले जानकारी दिए।