कालिकोट- कालिकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गरेको छ। वडा नं. ४ राँचुलीमा कोरोना(कोभिड) को महामारीलाई लक्षित गरेर सो अस्पताल निर्माण गरिएको हो।
नेपाल सरकारले एक स्थानी तहमा १५ शय्याको अस्पताल अनिवार्य स्थापना गर्ने नीति अनुसार सो नगर अस्पताल बनाइएको वडा नम्बर ४ का वडाध्यक्ष खड्कराज शाहीले जानकारी दिए। कोरोना महामारीका बेला त्यसको उपचारका लागि अस्पताल स्थापना गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए। 'गुणस्तरीय सेवा दिन स्वास्थ्य दक्ष जनशक्तीलगायतका थप व्यवस्था गरिनेछ”, उनले भने,'नागरिकको रक्षा हाम्रा लागि पहिलो प्राथमिकता हो।'
सो अस्पतालमा अक्सिजनसहितको आइसोलेसनको सुविधा रहेको नगरपालिकाका सूचना अधिकारी चक्र अधिकारीले बताए। उनले भने,'कोरोना महामारीका बिरामी बढ्दै गएका कारणले सबै सुविधासहितको सेवा दिने तयारी छ।'
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले दिएको अधिकारबमोजिम नगरपालिकाले दिगो रुपमा समेत सञ्चालन गर्ने गरी आफ्नै अस्पताल सञ्चालन गरेको नगरपालिकाले जनाएको छ।
महामारीमा अस्पतालको आवश्यकता महसुश गर्दै नगरपालिकाले आफ्नै अस्पतालबाट सेवा नै थालेपछि नगरवासीलाई सहज भएको स्थानीय राजबहादुर शाहीले बताए। अस्पताल पुगेर त्यहाँको जनशक्ती, व्यवस्थापन र बिरामीको अवस्थाबारे जानकारी लिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटक महतले जानकारी दिए। उनले भने,'अहिले स्वास्थ्य चौकीकै अवस्थाबाट सेवा प्रवाह भइरहेको र थप अस्पताल सञ्चालन गर्न डाक्टरसहितको व्यवस्थापन गर्न आवश्यक रहेको छ।'
रासस