काठमाडौं - नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सञ्चालन गरेको तालिम सकिएको छ। विश्व स्वास्थ्य संगठन नेपाल, सोसाइटी अफ इन्टरनल मेडिसीन अफ नेपाल लगायत संस्थासँगको संयुक्त आयोजनामा संघले क्रिटिकल केयर ट्रेनिङ प्रोगाम फर हेल्थकेयर वर्कर्स कोभिड-१९ तालिम सञ्चालन गरिएको थियो।
भर्चुअल माध्यमबाट दिइएको उक्त तालिममा ११ हजार ६ सय ७८ जना सहभागी भएका थिए। जसमध्ये ४१ दशमलव ७८ प्रतिशत चिकित्सक, ४२ दशमलव ६२ प्रतिशत नर्स र १५ दशमलव ६० प्रतिशत प्यारामेडिक्सहरुको सहभागीता रहेको संघका महासचिव डा बद्री रिजालले जानकारी दिए।
कोभिड-१९ संक्रमित बिरामीहरुको अक्सिजन र उपचार रोकथाम तथा नियन्त्रणमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरुको उचित प्रयोग तथा भविष्यमा आउन सक्ने महामारीको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित थियो। तालिम १० दिनसम्म सञ्चालन भएको थियो।
आगामी दिनमा पनि यस किसिमको तालिमहरु सञ्चालन गर्दै जाने संघले जनाएको छ।