काठमाडौं– सिरहाको मिर्चैयामा १ जना औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ। मिर्चैयामा औषधि पसल (मेडिकल) सञ्चालन गर्दै आएका ३९ वर्षीय रामसागर साफीमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्।
साफीमाथि गोली प्रहार गरेको आशंकामा २ जनालाई नियन्त्रणमा लिइएको प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले बताए।
शनिबार साँझ आफ्नै सिद्धि मेडिकल हलमा रहेका साफीमाथि ३–४ जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन्। साफीको मेडिकल इलाका प्रहरी कार्यालय मिर्चैयाबाट लगभग ५० मिटरको दूरीमा मात्रै रहेको छ।
साँझ मेडिकल बन्द गर्न खोज्ने क्रममा बत्ती निभाइरहेका बेला साफीमाथि गोली प्रहार भएको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका एक अधिकारीले जानकारी दिए। साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ।
प्रहरीको अनुसन्धानबाट सम्पत्तिका सम्बन्धमा आफन्तसँग विवाद हुने गरेको र यसअघि पनि उनीमाथि आक्रमण भएको खुलेको छ।
शंकास्पदहरुलाई हिरासतमा लिएर अन्य व्यक्तिको पनि खोजी भइरहेको डीआईजी सिंहले जानकारी दिए।