काठमाडौं - ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात वटा उद्योग औषधि व्यवस्था विभागमा दर्ता भएका छन्। कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।
एरो फर्मास्युटिकल्स प्रा.लिको क्लिन ह्याण्डस् नामको ५०० एमएल सोलुसन, ग्रेस फर्मास्युटिकल्स प्रा.लिको प्रोटेक्टेड ५०, १०० र ५०० एमएमलको जेल, ग्रेसकै २ हजार र ४५ सय एमएमको सोलुसन विभागमा दर्ता भएका छन्।
यस्तै, कश्यप ऋिषि आयुर्वेद कम्पनी प्रा.लिको कश्यप ऋिषि ह्याण्ड स्यानिटाइजर १००, ५००, एक हजार र ५ सय एमएमलको सोलुसन, एमडीएस फर्मास्युटिकल्सको भीरोक प्योर पार्मस् १०० र ३०० एमएलको जेल, एमडीएसकै भीरोक ह्याण्डरब ५० र ५०० एमएलको सोलुसन र वीनटेक केमीकलको ह्याण्ड क्लिनर १०० र ५०० एमएलको सोलुसन दर्ता भएको विभागले जनाएको छ।
यो सँगै हाल ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने दर्ता भएका उद्योगको संख्या ४१ पुगेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। हाल ११ वटा उद्योग दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए।
विभागमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्रि वितरण र प्रयोग गर्न विभागको आग्रह छ।