काठमाडौं– भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो मात्रा (डोज) लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले एक सूचनामार्फत कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाइने व्यवस्था मिलाइने जनाएका छन्।
कोभिसिल्ड र एस्टाजेनेका एउटै प्रकृतिका खोप भएका महाशाखाका प्रमुख डा पोख्रेलले जनाएका छन्।
‘सेरम इन्स्टिच्यूट अफ इन्डियासँग सम्झौता भइ अग्रीम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटीबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रको आारमा दोस्रो मात्राको सुनिश्चितता गरिएको थियो । तर, भारत सरकारको खोपको निर्यातसम्बन्धी निर्णयले सेरम इन्स्टिच्यूट अफ इन्डिया र कोभाक्स दुवैले (एउटै स्रोत) खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा उक्त मात्र दिन नसकिएको हो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा पोख्रेलले जारी गरेको सूचनामा भनिएको छ।
अब कोभिसिल्डको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनेका खोप नेपाललाई प्राप्त भएपश्चात १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने पोख्रेलद्वारा जारी सूचनामा उल्लेख छ।
सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटबाट उत्पादित कोभिसिल्ड खोप लगाउन शुरु गरेको थियो। यस्तै, १४ जिल्लामा ५५ वर्षका माथिका व्यक्तिलाई पनि खोपको पहिलो डोज लगाइएको थियो।
गत फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्डको पहिलो डोज लगाएका विशेष गरी देशभरका ६५ वर्ष माथिका र १४ जिल्लाका ५५ वर्ष माथिका नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका करिब १३ लाख ५० हजार बढी नागरिक दोस्रो डोजको प्रतिक्षामा छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा दोस्रो डोज लगाइसक्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले भने १२ हप्ता कटेपछि पनि दोस्रो डोज लगाउन मिल्ने भएकाले धैर्यता गर्न आग्रह गरेको छ।
तर, एस्ट्राजेनेका खोप कहिले उपलब्ध हुन्छ भन्ने विषय यकिन भइसकेको छैन। खोपको पहिलो मात्राले पनि कोभिड १९ बाट बचाउन मद्दत गर्ने निर्देशक पोख्रेलको भनाइ छ।
