जुम्ला- जुम्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आरटी पिसिआर परीक्षण गरेको थियो।
कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरि १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए।
उनले भने,‘ कारागारमा कोरोना लक्षणका बिरामी भेटिएपछि पिसिआर परीक्षणका लागि अस्पताललाई आग्रह गरेका थियौं। सोही अनुसार परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भयो।’ संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको उनले बताए।
अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ। कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने संक्रमणका लक्षण देखिएको छैन।
कारागारमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको कारागार शाखा जुम्लाले जनाएको छ। महिलाहरुलाई अलग गरेर आइसोलेसन वार्ड बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले भने,‘संक्रमितको अवस्था हेरेर अस्पताल लैजाने ल्याउने कार्य भइरहेको छ।' संक्रमितको नियमित रेखदेख र औषधि उपचार भइरहेको उनले बताए।