काठमाडौं–आयुर्वेद चिकित्सालय नरदेवीले विभिन्न चिकित्सा प्रणालीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको छ।
चिकित्सालयले एचडीयू सहितको आइसोलेसन सेन्टरमा आयुर्वेद चिकित्सा, एलोपेथी चिकित्सा प्रणाली, योग प्रणायाम, कपिङ थेरापी, फिजियोथेरापीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो। हाल प्रयोगमा ल्याइएको एकीकृत चिकित्सा प्रणाली कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको अस्पतालले जनाएको छ।
अस्पतालमा भर्ना भएका संक्रमितमध्ये करिब ५० प्रतिशत संक्रमितहरु मध्यम र जटिल अवस्थाका थिए। सामान्य खालका बिरामीलाई आयुर्वेदिक औषधिअन्तर्गत ज्येष्ठवासादि मिश्रण काँडा र लक्षणअनुसार आयुर्वेदिक फर्मुला ‘एक’ र ‘दुई’ दिइएको थियो।
मध्यम र जटिल अवस्था भएका बिरामीलाई आयुर्वेदिक उपचार, एलोपेथी औषधि, अक्सिजनको प्रयोग, कपिङ थेरापी, आवश्यताअनुसार स्टेरोइड, रेमडेसिभिर, योग ध्यानको माध्यमबाट उपचार गरिएको अस्पतालले जनाएको छ। शरीरमा अक्सिजनको मात्रा घटेका, छाती दुख्ने तथा मांसपेशी दुख्ने, सुख्खा खोकी लागेका बिरामीहरुलाई कपिङ थेरापी उपयोगी देखिएको अस्पतालले जनाएको छ।