अछाम- अछाम, बाजुरा र डोटीका स्थानिय पालिकाका प्रमुखहरुले बयालपाटा अस्पतालका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग २० करोड माग गर्ने निणर्य गरेका छन्।
बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्र रहेका ३ जिल्लाका स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधीले अस्पतालको संचालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारसँग २० करोड रकम माग गर्ने निणर्य गरेका हुन्।
यहाँका जनतालाई निशुल्क सेवा दिईरहेको बयालपाटा अस्पतालका लागि आगामी आर्थिक बर्षमा प्रदेश सरकारले २० करोड रकम विनियोजित गर्नुपर्ने माग बमोजिम निणर्य भएको जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुवँरले जानकारी दिए।
५० बेडको अनुमति प्राप्त अस्पताल प्रदेश सरकारको मातहतमा हुने सरकारको नितिगत निर्णय बमोजिम बयालपाटा अस्पतालले पनि सोको स्वीकृत प्राप्त गरेकाले यसको व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारको रहेको भन्दै बजेट विनियोजित गर्नुपर्ने ३ जिल्लाका पालिका प्रमुखहरुले माग गरेका हुन्।
यसअघि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपालले संचालन गरिरहेको बयालपाटा अस्पताललाई अब प्रदेश सरकारले संस्थासँग सम्झौता गरेर आर्थिक व्यवस्थापनको जिम्मा लिनुपर्ने उनीहरुको माग छ। उसो त सबै प्रकारका सेवा निशुल्क प्रदान गर्ने बयालपाटा अस्पताल देशमै नमुना भएको भन्दै संघिय सरकारले समेत यसको अपनत्व लिनुपर्ने माग समेत उठेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पतालको लागि नीतिगत रुपमै हरेक बर्ष बजेटको व्यवस्था गरी रेडबुकमा समावेश गर्नुपर्ने र त्यसपछिको अपुग रकम स्थानीय पालिका र संसथाले गर्ने कुरामा उपस्थित सरोकारवाला एकमत भएका छन्।
संचालन र व्यावस्थापन सम्बन्धी प्रणालीगत ऐन, नियम, निर्देशका तथा कार्यविधि बन्नुपर्ने भन्दै उनिहरुले बजेटकै लागि पटकपटक बैठक बस्ने कुराको अन्त्य हुनुपर्ने माग गरेका थिए।
यस्तै अस्पतालको लागि स्थानिय पालिकाहरुबाट समेत आर्थिक सहयोग गर्ने निणर्य भएको छ। अस्पतालको सेवा क्षेत्र भित्र रहेका अछामका १० वटै पालिका, बाजुराका बुढीगंगा नरगपालिका, त्रिबेणी नगरपालिका र डोटीको पूर्वीचौकी गाँउपालिकाबाट आर्थिक सहयोग गर्ने निणर्य भएको हो।
गाँउपालिकाले कम्तीमा १५ लाख र नगरपालिकाले कम्तीमा २० लाख बजेट बिनियोजित गर्नुपर्ने निणर्य गरिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुवँरले बताए। उनका अनुसार बाजुराको थप एक गाँउपालिका र डोटीका थप ३ पालिकाकालाई समेत सहयोगका लागि अुनरोध गर्ने निणर्य भएको छ।