लण्डन- स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताए।
बेलायत, अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनको भनाइ थियो। खोप खरिदका लागि सरकार प्रतिबद्ध रहेको र यसका लागि कुनै व्यवहारिक समस्या नभएपनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रीत भएकोले समस्या परेको उनले बताए।
अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताए।
त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उनले गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोगका लागि बेलायतस्थित नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गरे। महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले पनि सबै नेपालीलाई आआफ्नो स्थानबाट सहयोग गर्न उनले आग्रह गरे। महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मुल्यांकन हुने राजदूत रेग्मीले जनाए।
यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताए। नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उनले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको जनाए।
अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि नेपाल सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताए। डा महतोले नेपालको महामारीको लडाँईसँग लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने’ देशका रुपमा परिणत गर्नुपर्नेमा जोड दिए।
एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिए। उनले पहिलो चरणमा ४ वटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि कामअघि बढेको बताए।
संघका उपाध्यक्ष डा बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशः सामग्री पठाउने तयारी भइरहेको बताए। संघका महासचिव डा हेम राज शर्माले कोभिड–१९ को विश्वव्यापी संक्रमणपछि गैरआवासीय नेपाली संघले २ सय ५० जना चिकित्सकहरु परिचालन गरेको तथा ५० देशमा २५ सय स्वयंसेवक परिचालन गरेर करिब २ लाख नेपालीहरुलाई प्रत्यक्ष सहयोग गरेको जानकारी दिए।
गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिइन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियका अध्यक्ष केशव कंडेलले अब नेपालमा अक्सिजन कन्सनट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताए। उनले विदेशमा संकलन भएको सहयोग जहाँको लागि भनेर संकलन भएको हो त्यही स्थानसम्म पुर्याउन नेपाल सरकारलाई आग्रह पनि गरे।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानाडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले क्यानाडा स्थित गैरआवासीय नेपाली समुदायको सहयोगमा ७५ वटा अक्सिजन कन्सनट्रेटर नेपालमा पठाएको जानकारी दिए।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्ष हरि न्यौपानेले स्वास्थ्य सामग्रीको वितरण प्रभावकारी हुनु पर्नेमा जोड दिए।
यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष प्रदिप न्यौपानेले महामारीसँग लड्न जस्तोसुकै सहयोगका लागि तयार रहेको बताए ।
सोही अवसरमा "नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ" अभियान अन्तर्गत गैरआवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा खरिद गरिएका ४२८ वटा अक्सिजन कन्सन्ट्रेटरहरु नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा संघका विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, बेलायतस्थित स्थानिय निर्वाचनमा निर्वाचित काउन्सिलरहरु लगायतको उपस्थिति थियो।