रोल्पा- नेपाली कांग्रेस रोल्पाले कोरोना संक्रमित बिरामीहरुलाई निशुल्क पौष्टिक आहारा खुवाउन शुरु गरेको छ। कोरोनाका कारण रोल्पा अस्पताल भर्ना भएका बिरामीहरुलाई पौष्टिक आहारमा सहयोग गर्ने भन्दै नेपाली कांग्रेस रोल्पाले यस्तो कार्यक्रम थालनी गरेको हो।
कोरोना संक्रमितहरुको पौष्टिक खानाका लागि नेपाली कांग्रेस रोल्पाले कोष स्थापना गरेको छ। कोषमा नेपाली कांग्रेस रोल्पाले ५० हजार, सभापति अमरसिंह पुनले २५ हजार तथा अन्य नेता कार्यकर्ताले समेत रकम जम्मा गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। नेपाली कांग्रेस रोल्पाका नेता कार्यकर्ता, शुभेच्छुक तथा भातृसंगठनका नेता कार्यकर्ताहरुको सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्यायले जानकारी दिइन्।
उक्त कार्यका लागि मासिक १ लाख खर्च लाग्ने अनुमान गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई यो कार्यक्रम निकै फलदायी हुने नेपाली कांग्रेस रोल्पाले अपेक्षा गरेको छ।
'कोभिड नियन्त्रण तथा रोकथामका लागि सबै पक्ष आआफ्नो क्षेत्रमा क्रियाशील रहनुपर्ने आवश्यता अनुसार नेपाली कांग्रेस रोल्पाले यस्तो कार्यक्रमको थालनी गरेको हो,' पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने, 'यस्तो कार्यमा सबैले सहयोग गर्नुपर्छ।'
रोल्पा अस्पतालका डाक्टरहरु संगको सल्लाह बमोजिम पौष्टिक खानाको सूची तयार पारिएको सभापति पुनले जानकारी दिए।
हाल रोल्पा अस्पतालको आइसोलेसनमा १५ जना कोरोनाका बिरामीहरु छन्।
यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि रोल्पाको थवाङमा नि:शुल्क खाजा खाना खुवाउने कार्यको थालनी गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल थवाङको आयोजनामा नि:शुल्क खाजा र खाना खुवाउन थालिएको हो।
थवाङ गाउँपालिकाको आइसोलेसनमा बसेका कोरोना संक्रमित तथा तिनका कुरुवाहरुलाई खाजा र खाना खुवाउन थालिएको गोविन विकले जानकारी दिए।