जुम्ला- जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा स्वास्थ्य सामग्री लिएर गाउँमा बनेको आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा पुगेका छन्। उनले तातोपानी गाउँपालिकामा आइसोलेसन सेन्टर, आइसोलेसनमा बसेका संक्रमित र कोभिड अस्पतालको अवस्था बुझेर गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका हुन्।
उनी स्वास्थ्य सुरक्षाका सामग्री सहित आइसोलेसन सेन्टरमै पुगेका थिए। प्रमुख जिल्ला अधिकारी थापा स्वास्थ्य सामग्री सहित पुग्दा स्वास्थ्यकर्मी खुशी देखिन्थ्ये। संक्रमितले निकै भरोसा मानेका थिए।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले पिपिइ र गमबुड २० सेट, सेनिटाइजर ३० बोतल, सेनिटाइजर ५ गेलेन, मास्क एन नाइन्टीफाइभ ५० पिस, सर्जिकल मास्क ५० बक्स, एलआर थर्ममिटर ५ पिस, फेस शिल्ड ८० पिस, लुज ग्लोब्स ५ पाकेट, सर्जिकल ग्लोब्स ५ पाकेट, सोडिएम हाइडोक्लोराइड सोलुसन ३ गेलेन, सेनेटरी प्याड १० पिस र अक्सिमिटर ४ पिस तातोपानी गाउँपालिकालाई बुझाएका हुन्।
स्वास्थ्यकर्मीलाई उनले भने,‘ढुक्कसंग संक्रमितको उपचार र निगरानी गर्नुस्। आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँछौँ।’
अहिले तातोपानी गाउँपालिकाका दुई वटा आइसोलेसन सेन्टरमा ४७ जना संक्रमित छन्। उनीहरु सबैको अवस्था सामान्य छ। चार जना होम आइसोलेसनमा छन्। १९ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखा तातोपानीले जनाएको छ।
जिल्लाको तातोपानी गाउँपालिकाको लाम्रास्थित आइसोलेसन सेन्टर र कोभिड अस्पताल र राँका गाउँस्थित आइसोलेसनमा पुगेर प्रमुख जिल्ला अधिकारीले संक्रमितलाई उर्जा थप्ने कार्य गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यो कठिन अवस्थामा संक्रमिलाई हौसला र भरोसा आवश्यक छ। त्यही भरोसा दिन आइसोलेसन सेन्टरमा पुगेको छु।’ उनले आइसोलेसनमा रहेका संक्रमितलाई व्यवस्थापन र स्वास्थ्य निगरानीको बारेमा बुझेका थिए।
संक्रमितले स्थानीय सरकारले राम्रो व्यवस्थापन गरेको प्रतिक्रिया दिएका थिए। उनीहरुले आइसोलेसनको व्यवस्थापन र जनप्रतिनिधि र कर्मचारीको खटनपटन प्रति खुशी पोखे।
आइसोलेसन सेन्टरमा पुगेका प्रजिअ थापाले संक्रमितलाई समस्या के छन्? भनेर सोधेका थिए। संक्रमितले जवाफमा सन्तुष्ट रहेको बताए।
प्रमुख जिल्ला अधिकारी थापाले दुई पटक संक्रमित भइसकेकोले आफ्नो अनुभव समेत आदान प्रदान गरेका छन्। उनले संक्रमितलाई हौसला दिँदै भने,‘तातो झोलिलो पदार्थ खानुहोला। तातोपानी पिउनु होला। शारीरिक व्यायम गर्नुहोला। स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सुझावको पालना गर्नुहोला। कोराना ढुक्कले जितिनेछ। ’
जुम्लाका स्थानीयतहले बनाएका आइसोलेसन र कोभिड अस्पतालको पटक पटक अनुगमन गरेर संक्रमित र चिकित्सकको मनोबल उचो बनाउने कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनले भने,‘संक्रमितलाई हतोत्साहित हुन दिनुहुँदैन। पटकपटक स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ।'
जुम्लाको एक नगरपालिका सहित सात वटै गाउँपालिकामा सिडिओ थापाले आफैं आइसोलेसन सेन्टर निर्माण व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको बिषयमा अनुगमन गरिसकेका छन्। सेवामा खटिने क्रममा थापा आफैं पनि संक्रमित भएका थिए।
प्रमुख जिल्ला अधिकारी थापा संग जिल्ला प्रहरी प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख एसपी गगन श्रेष्ठ सहभागि थिए। जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी पनि सो टोलीमा थिए। तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले संक्रमितलाई आइसोलेसन सेन्टरसम्म ल्याउनु चुनौति भएको बताइन्। उनले भनिन्,‘गाउँपालिकाले सकेसम्मको व्यवस्थापन गरेको छ। कोरोना संक्रमण फैलनन नदिनको लागि सचेतना फैलाउनुका साथै संक्रमितको उचित हेरबिचारका लागि जिम्मेवार रहेको छ। ’
प्रमुख जिल्ला अधिकारी थापाले गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न जरुरी देखिएको बताए। गाउँमा रोपाइँ चलेको छ। उनले भने,‘हरेक रोप्नेरीलाई मास्कको व्यवस्थापन गर्नु पर्ने देखिन्छ। दुरी कायम गरेर खेत रोप्ने व्यवस्थापन स्थानीयतहले मिलाउनु पर्ने देखिन्छ।’
प्रमुख जिल्ला अधिकारी थापाले लकडाउनको अवस्था अवलोकन समेत गरेका थिए। उनले संक्रमितसंग सम्पर्कमा रहेका सबैको कन्टयाक्ट ट्रेसिङ गर्न सुझाव दिए। एक दुइ दिन भित्रै कन्टयाक्ट ट्रेसिङ र टेस्टिङको कार्य हुने स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए।