काठमाडौं- चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसंगै आइसोलेशन सेन्टरको निरीक्षण गरेको हुन्।
अस्पतालमा काठमाडौं लोकन्थलीस्थित मुनरक इन्टरनेश्नल प्रालीले उक्त प्लान्ट जडान गरेको हो।
उद्घाटनको क्रममा मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिए। उनले भने,‘तपाईंहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ। यो खुशीको खबर हो। तपाईंहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ।’
उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई अक्सिजनमा आत्मनिर्भर हुने पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पुनः बधाई दिए।
उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाए। अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ।
मन्त्री तामाङले उक्त सामुदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए।
प्लान्टको उद्घाटनको क्रममा मन्त्री तामाङले देशभर नै सबै नागरिकलाई चाँडै कोरोनाविरुद्वको खोपको सुनिश्चिता गर्नेगरि काम गरिरहेको बताउँदै खोप सुनिश्चित नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे।
कार्यक्रममा मुनरक ईन्टरनेश्नल प्रालीका प्रवन्ध निर्देशक ई प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताए। उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिए।
देशसभा सदस्य रमा आलेमगरले अस्पताललाई आवश्यक सहयोग गर्न मन्त्री तामाङलाई आग्रह गरेकी छन्।
त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए।
त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशषेज्ञ डा रोशन पोखरेल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत नगरपालिकाका जनप्रतिनीधि र स्थानियहरुको उपस्थिती रहेको थियो।