जाजरकोट- ‘अक्सिजनका लागि एक हजार’ अभियान सञ्चालन गरेका जाजरकोटका युवाहरूले जिल्ला अस्पताल र दुई स्थानीय तहलाई सहयोग गरेका छन्।
अभियान सञ्चालन गरेका युवाहरूले बुधबार जिल्ला अस्पताल जाजरकोटमा रहेका १५० वटा अक्सिजन सिलिण्डर भर्नका लागि अस्पताललाई ९० हजार रूपैयाँ हस्तान्तरण गरे। अभियानका तर्फबाट सरोज वली र दिनेश गौतमले जिल्ला अस्पतालका स्वास्थ्य व्यवस्थापक डा. अमिन शाहलाई ९० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यस्तै, जिल्लाको भेरी नगरपालिका र जुनीचाँदे गाउँपालिकालाई १ लाख २० हजार बराबरको विभिन्न स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको अभियानका अर्का सञ्चालक भरत शर्माले बताए।
कोरोना महामारी बढ्दै गएपछि उनीहरूले अक्सिजन र स्वास्थ्य सामग्रीको जिल्लामा अभाव हुन नदिन ‘अक्सिजनका लागि एक हजार’ अभियान चलाएका थिए। उनीहरूको अभियानमा जुनीचाँदे गाउँपालिका घर भई हाल जापानमा रहेका खिमराज शाह, भेरी नगरपालिका-३ घर भई अस्ट्रेलियामा रहेका निर्वाचन श्रेष्ठलगायत जाजरकोट र जाजरकोटबाहिर रहेका केही जिल्लावासीहरूले सहयोग गरेका थिए।
जाजरकोटमा हालसम्म पीसीआर र एन्टीजेन विधिबाट १० हजार १५ जनालाई गरिएको परीक्षणबाट एक हजार ४९० जनालाई कोरोना पुष्टि भएको छ। संक्रमित १ हजार ४९० जनामध्ये एक हजार ५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदनमा उल्लेख।
हाल जिल्लमा ४१८ जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये केही होम आइसोलेसन तथा केही अस्पतालको आइसोलेसनमा उपचाररत छन्। जाजरकोटमा हालसम्म ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म १२ जना संक्रमितलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसरी रेफर गरेका बिरामीमध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको छ।