२१ जेष्ठ २०७७ का दिन यसै स्वास्थ्यखबरमा मेरो एउटा औषधिमा आत्मनिर्भरको मुल बिषय समेटिएको लेख छापिएको थियो। उक्त लेखको शिर्षक "नेपाल औषधिमा आत्मनिर्भर हुन सक्ने प्रमाण" भनेर रहेको थियो। तर, अहिले पारासिटामोलको बजारमा जुन अभावको अवस्था सृजना हुन गएको छ, यो अवस्थाले एक वर्षअघिको मेरो आफ्नै लेखलाई प्रश्न गरेको छ। प्रश्न त्यही छ कि, के देश औषधिमा साँच्चिक्कै आत्मनिर्भरको दिशा उन्मुख छ त? यही र यस्ता कयौँ प्रश्नहरुको उत्तर आज खोज्नु परेको छ।
पारासिटामोलको अभाव केही हदसम्म नभएको पनि होइन, तर अहिलेको जस्तो महामारी ह्वात्तै फैलिएको अवस्थामा माग अनुसारको यथाशीघ्र आपुर्ती हुन नसक्नु भवितब्य पनि हुन सक्छ। तर, यस्ता अत्यावश्यक वस्तुको अभाव, भवितव्यको कारणले पनि हुनुहुँदैन जस्तो लाग्दछ। सायद, हामी कसैले पनि एउटा साधारण रुपमा माग र आपुर्ति सजिलै भइरहेको पारासिटामोलको वितरण प्रणालीमा कयौँ गुणाको बृद्धी होला भनेर सोचेका थिएनौं। तथ्याङ्क अनुसार, हाम्रो देशमा पारासिटामोल बनाउने ७२ वटा उधोग दर्ता रहेछन, जसमद्धे २६ नेपाली र ४६ भारतिय रहेको तथ्य छ। यसको आपुर्तिमा २६ वटा स्वदेशी मात्रै नभई ७२ वटै जिम्मेवार हुनुपर्दछ, जस्तो लाग्दछ। स्वदेशी उद्योगहरुले उत्पादन दिन सकेन भन्दा विदेशीहरुले पनि त आपुर्तिमा माग अनुसारको सहयोग नगरेको देखियो त? अरु औषधि पठाउन तारन्तार गर्नेहरुले आवश्यक पारासिटामोलको माग पुर्तीमा खोई त तदारुकता देखाएको? प्रश्न उठन सक्दछ, र उठी पनि सक्यो।
सरकारको पनि यी र यस्ता सवालहरुमा अभिभावकको भूमिकामा रहनु पर्दछ जस्तो लाग्दछ। प्रश्न दुबै पक्षलाई सोधिनु पर्दछ र यो तर्कसँगत पनि छ। एकतर्फी प्रश्नले कहिलेकाँही गौण उत्तर नभेटिन पनि सक्दछ।
अर्को तर्फ मुल्यको तुलनात्मक अध्ययन गर्दा, नेपालभित्र उपलब्ध सम्पूर्ण पारासिटामोलको मुल्य एक रुपैयाँ रहेको छ, त्यसमा सम्पूर्ण स्वदेशी र केही विदेशी पर्दछन्। यसको कारण सरकारले नै मुल्य तोकेकोले त्यस मुल्यभन्दा बढी राख्न नपाउनु हो। २०६४ मा एक रुपैयाँ मुल्य तोकिँदा तत्कालिन समय अनुसार उपयुक्त अवश्य थियो होला। तर अहिले तीन चार दोब्बर कच्चापदार्थको मुल्य बढ्दा, प्याकिङ्ग सामग्रीको मुल्य बृद्धी हुँदा, तलबमानको बृद्धी हुँदा १४ बर्षको अन्तरालमा कतिको वैज्ञानिक परख तर्क छ? प्रश्नको उत्तर खोजिनु पर्छ। सान्दर्भिक कुरो के छ भने सरकारले आफ्नो स्वामित्वमा रहेको पेट्रोलियम पदार्थ, विधुत महसुल, अन्य सरोकारका बस्तुको मुल्य समय अनुसार समायोजन गरेको पाइन्छ। तर औषधिमा १४ बर्षसम्म पनि समायोजन न गरिनु के न्याय सँगत छ त? कदापी छैन।
अर्को तर्फ हेर्दा, पारासिटामोलको अभावको कारणहरु निम्न हुनसक्दछन्
(क) बजारको माग ह्वात्तै बढेर जानु,
(ख) (ख) समयमै कच्चा पदार्थ, प्याकिङ्ग गर्ने पदार्थ उपलब्ध हुन नसक्नु,
(ग) उपभोक्ताले आवश्यक भन्दा बढी भण्डारण गर्नु,
(घ) कच्चापदार्थको मुल्य अत्यधिक बढेर जानु,
(ङ) भारत तिरबाट पैठारीमा कमी हुनु, रोकिनु
(च) अन्य मुलुकबाट खासै उपलब्ध नगराइनु,
(छ) समयमै मुल्य समायोजन लाई सम्बोधन नगरिनु।
नेपाल सरकारले २०६४ साल असोज १० गते पारासिटामोलको अधिकतम खुद्रा मुल्य एक रुपैयाँ तोकेको थियो। आज १४ बर्ष पछि पनि त्यहि मुल्य कायम हुनु पनि, माग अनुसारको आपुर्ति हुन नसक्नुको प्रमुख कारणमध्ये एक हुन सक्दछ। आज अरु औषधि सहजै माग अनुसार दिन सक्छौं भनेर उदघोष गर्ने विदेशी उद्योगहरुले पनि पारासिटामोलको पैठारीमा खासै चासो न देखाउनुको पछाडीको कारण मुल्य समायोजन नहुनु पनि हो। त्यसैले यो दोश्रो लहरको महामारीको अवस्था समाप्तिपछि मुल्य समायोजनतर्फ सोच जानु पर्दछ।
भारतको बजारमा पारासिटामोल ब्राण्डहरुका, एक चक्कीको खुद्रा मुल्य निम्नानुसार देखिन्छ
सिपमोल - १ रुपैयाँ ४० पैसा,
मेलिकेन्स- १ रुपैयाँ ५० पैसा,
डोलो - २ रुपैया २० पैसा,
पेसिमोल - २ रुपैया २७ पैसा,
क्रोसिन- ४ रुपैया ८० पैसा,
काल्पोल- १ रुपैया ७३ पैसा,
(नेपाली मुद्रामा परिमार्जित मुल्यहरु)
आफैं पारासिटामोलको सयौँ ब्राण्ड उत्पादन गर्ने भारतले पारासिटामोलको खुद्रा मुल्य एक रुपैयाँभन्दा बढी राख्नुको पछाडी कच्चापदार्थको मुल्य अत्यधिक बृद्धी हुनु पनि हुन सक्तछ। यदि यो तथ्यलाई सही मान्ने हो भने नेपालमा पनि समायोजनको आवश्यकता छ भन्ने देखिन्छ। हाम्रो देश नेपाललाई भारतिय उधोगहरुले एक रुपैयाँ खुद्रा मुल्यमा पारासिटामोल दिन चाहेका छैनन्। केही मित्र उधोगहरुले दिएता पनि त्यसले माग अनुसारको पुर्ति भएन भनेर भनिन्छ। यसै आपुर्तिको सवाललाई अझै सुक्ष्म अध्ययन गरेर हेर्दा गत चैत्र यता अरु बेला भन्दा अत्यधिक बढन गएको पारासिटामोलको मागलाई नेपाल औषधि उत्पादक संघसँग आवद्ध स्वदेशी उधोगहरुले नियमित परिपुर्ती गर्दै गरेको तथ्यहरु छन्। बजारको मागको ६० प्रतिशत भन्दा बढी नेपाली उत्पादकहरुले धानी रहेको अवस्था पनि छ। तर पनि यही सवालको घेरामा उद्योगहरु पर्नु परेको पनि छ। भरखरै कच्चापदार्थको मौज्दात रहेसम्म, कच्चापदार्थ आयात सहज भइ रहेसम्म्, उत्पादनलाई निरन्तरता दिई राख्ने प्रतिबद्धता पनि आइसकेको छ। समय समयमा, अहिलेको जस्तो अप्ठेरो परिस्थितीहरुमा बिगतमा पनि केही औषधिहरुको अभाव नभएको होइन। बिनासकारी भुकम्पको समयमा, नाकाबन्दीको समयमा, अघिल्लो र अहिलेको महामारीको समयमा, औषधि आपुर्ती पनि असहज भएको देखिन्छ। ज्ञातव्य रहोस, स्वदेशी उधोगहरुले यस्ता असहज परिस्थितीमा पनि आपुर्ति सहज गर्न, माग पुर्ति गर्दै, सहयोगी भावना देखाई नै रहेका छन्। ६ महिनादेखी एक बर्षसम्मलाई पुग्ने कच्चापदार्थ जगेर्ना गर्दै स्वदेशी हातहरुका माध्यमले निरन्तर उत्पादन गरेर भएपनि आपुर्ति सहज गराइएको छ। यो आफैंमा एउटा सराहनिय राष्ट्रसेवा हो।
२०६४/६५ साल तिर बाट कच्चा पदार्थको मुल्य बढ्न सुरु भए देखिनै उत्पादक संघले मुल्य समायोजन (वृद्धि) को लागि पहल गर्दै आएको हो। कैयौं औषधिमा घटेको पनि छ, बढेकोमा महंगो परे पनि उत्पादन गर्दै हाल २६ नेपाली कम्पनीले पारासिटामोल बनाउने र बेच्ने गरेकै हुन्। अर्कोतर्फ ६० प्रतिशत बजार ओगटेको ४६ भारतिय कम्पनीले, नेपाल ल्याएर बेच्ने गरेकोमा यस्तो आवश्यक परेको बेला किन पठाउन सकेको छैन? यो कुरा पनि बुझ्न जरुरी छ। त्यसै नेपाली कम्पनीलाई मात्रै एकतर्फी रुपमा दोष दिन मिल्दैन। सिमा क्षेत्रहरुमा यताको मुल्य सस्तो भएकोले उतातिर जान थालेको पनि सुनिन्छ।
"अनिकालमा जिउ /बीउ जोगाउनु" भन्ने कसै कसैले बढी मात्रामा घरघरमा भण्डारण गरेको पनि हुन सक्दछ। पछी त्यही पारासिटामोल म्याद सकिए पछी बाहिर निस्किन पनि सक्दछ।
औषधिको कच्चा पदार्थ (API) को मूल्य अन्तर्राष्ट्रिय बजार बाट तय हुने हुँदा सरकारले वैज्ञानिक तरिकाको मुल्य समायोजनको नीति तुरुन्तै पारित गर्नु पर्छ। जुन धेरै देशमा प्रचलनमा छ। स्वास्थ मन्त्रालयले समेत विज्ञ लगाएर नेपाललाई सुहाउने, अन्तराष्ट्रीय सापेक्ष नीति बनाउनु पर्दछ।
पारासिटामोलको अभावले देशमा अन्य औषधिहरु पनि सहजै उपलब्ध भइरहेका छैनन् कि भन्ने सवाल पनि उठन सक्दछ। तर भन्नु पर्दा नेपालमै उत्पादन भई रहेका अन्य धेरैजसो औषधिहरु यस्तो विषम परिस्थितीमा पनि उपलब्ध छन्। यो अर्को तर्फ सुखद पक्ष हो। ढुवानीको कारणले कहिलेकाहीँ कहिँ कतै कुनै एक दुई उपलब्ध नभए पनि समग्रमा, अन्य औषधिमा त्यस्तो समस्या देखिँदैन। हाम्रो देश भित्रै उत्पादन भई नसकेको भ्याक्सिन, इन्हेलर, सुईहरु लगायत अन्य थुप्रै औषधिहरु पनि आयातकर्ता मित्रहरुले अहोरात्र खटिएर आपुर्ति सहज गराइ रहनु भएको छ।
तर पनि अहिलेको बहसको प्रमुख मुद्दा पारासिटामोलको अभाव हुन पुगेको छ। र, यो समाधान गर्न सकिने मुद्दा हो। यसैले पनि सम्पुर्ण सरोकारवालाहरुले यस विषयमा गहिरिएर सोच्नु पर्ने भएको छ। एकातिर यो अत्यावस्यक औषधि, अर्कोतिर बर्षौदेखी अपनाइएको प्रविधीबाट सहजै उत्पादन हुन सक्ने, तर मुल्य लगायतका कारणले माग अनुसारको आपुर्ति न हुन सक्नु दुखद छ।
साधारणतया भन्नु पर्दा पारासिटामोल त सजिलै बिरामीले पाउनु पर्ने हो, जस्तो लाग्दछ। तर त्यही औषधि सहजै रुपमा औषधि पसलमा पाउनु पर्ने स्थानमा, नपाउँदा हामी हाम्रो मस्तिस्कमा एकपटक होइन कयौँपटक सोच्न बाध्य छौँ।
नयाँ आर्थिक बर्षको बजेट पनि आइसकेको छ। नयाँ बजेटमा विगतको भन्दा बढी रकम स्वास्थ्य क्षेत्रलाई बिनियोजन गरिएको छ। तर, यस्तो बिषयलाई अझै बढी सम्बोधन गर्न, आयातलाई घटाउँदै स्वदेशमै उत्पादन हुनसक्ने औषधिहरुलाई देश भित्र र बाहिर पनि पठाउन सकिने क्षमता बृद्धीमा प्रोत्साहन गर्दै अघि बढनु उचित देखिन्छ। आफ्नै उत्पादन हुनु र आयात गर्नुमा पक्कै फरक पर्दछ। आयातले व्यापार घाटा बृद्धी हुन्छ भने स्वदेशमै उत्पादन हुन सक्नु गौरवको बिषय पनि हुन सक्दछ। देशभित्र नै औधोगिक क्रान्ती हुन सक्नु स्वाभिमान हो, अर्थतन्त्रमा टेवा हो, रोजगारीको प्रशस्त अवसरको सृजना हो र नयाँ नेपालको कल्पना पनि हो।