काठमाडौं - नेपाल औषधि व्यवसायी संघले पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन माग गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दैै सरकारले यथाशक्य छिटो औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन माग गरेको हो। खोप अभियानमा फ्रन्टलाइनमा खटिने औषधि व्यवसायीहरुलाई प्राथमिकतामा नराखेको भन्दै संघले आपत्ति समेत जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना विरुद्धको भ्याक्सिन लगाउने अभियान÷कार्यमा पहिलो चरणमा खोप लगाउन छुटेका औषधि व्यवसायीहरुलाई प्राथमिकतामा राखी खोप लगाउने कार्य व्यवस्थापनको लागि ध्यानाकर्षण गराउँदछौँ।’
औषधि व्यवसायीहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै संघले उनीहरुलाई पनि खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। खोपबाट बञ्चित गराई औषधि व्यवसायीहरु संक्रमित भए औषधिको उपलब्धतामा असहज परिस्थिति सृजना हुन सक्ने विज्ञप्तिमा उल्लेख छ। सरकारले खोपको दायरामा नल्याए विरोधका कार्यक्रम सञ्चालन गर्न समेत बाध्य हुने संघले जनाएको छ।