बाग्लुङ- नेपाल चिकित्सक संघले धौलागिरी क्षेत्रका तीन जिल्लाका लागि तीन दर्जन अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। संघले बागलुङ, पर्वत र म्याग्दीका लागि १२/१२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो।
तीन वटै जिल्लाका लागि अक्सिजन कन्सन्ट्रेटरको साथमा पिपिई र अन्य स्वास्थ्य सामाग्री पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाका स्वास्थ्य मन्त्रालयका प्रमुख सल्लाहकार प्रताप पौडेल र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदी मार्फत पठाएका थिए। करिब ३५ लाख बराबरको उक्त सामाग्री बागलुङमा १२, म्याग्दीमा १२ पर्वतमा १२ थान कन्सन्ट्रेटर पुर्याईएको छ।
कोरोना संक्रमण दोस्रो लहरको महामारी बढ्दै गएको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थालाई केही राहत होस भन्ने उद्देश्यले चिकित्सक संघसँग आग्रह गरी धौलागिरी क्षेत्रमा कन्सन्ट्रेटर र केही स्वास्थ्य सामाग्री प्रदान गरिएको पौडेलले बताए। बागलुङका लागि ल्याईएको अक्सिजन कन्सन्ट्रेटर जिल्लाको धौलागिरी अस्पताल, बागलुङ नगरपालिकाको आइशोलेशन केन्द्र, पैयुँपाटा, नारायणस्थान, अमलाचौर, गलकोट प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि हस्तान्तरण गरिएको पौडेलले बताए।
स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीकै सल्लाह अनुसार कन्सन्ट्रेटर लागि चिकित्सक संघलाई आग्रह गरेको र संघले ताईवानमा रहेको सुचि फाण्डेशनलाई आग्रह गरेको थियो। संघ र फाउण्डेशनको सहयोगमा आफूहरुले संयोजन गरेर म्याग्दी र बागलुङका हरेक स्वास्थ्य संस्थामा कन्सन्ट्रेटेड र अन्य स्वास्थ्य सामाग्री पुर्याएको पौडेलले जानकारी दिए।
म्याग्दीका लागि आएका अक्सिजन कन्सन्ट्रेटेर म्याग्दी अस्पताल र ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा प्रदान गरि सकिएको कांग्रेस नेता डिल्लीराम सुवेदीले जानकारी दिए। सुवेदी र पौडेलले अक्सिजन कन्सन्ट्रेटरको साथमा जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिका अन्तरगतका सबै वडाका स्वास्थ्य संस्थामा पुग्ने गरी अक्सिमिटर, थर्ममिटर, पिपिई, मास्क सेनिटाईजर लगायतका करिब ३० लाख बराबरका केही आवश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको बताए।
देशभरका चिकित्सक र स्वास्थ्यकर्मीका लागि संकटको बेला सेवा प्रदान गर्न सहज होस भन्दै संघले अक्सिजन कन्सन्ट्रेटरको साथमा आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले जानकारी दिए। रिजालका अनुसार संघले देशभर ४ स्थानमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेको छ। जसमा धौलागिरीको पर्वत जिल्ला अस्पतालमा निर्माणका काम सुरु गरिने महासचिव रिजालले बताए। ‘सामाजिक उत्तरदात्वि अन्तरगत संघले देशभर भ्यान्टिलेटर, अक्सिजन प्राल्ट निर्माण जस्ता कार्यहरु पनि गरेको छ। सबै सहकार्य सुचि फाउण्डेशन मार्फत नै हुन्छ' रिजालले भने, 'धौलागिरी क्षेत्रमा पर्वतको कुश्मामा रहेको पर्वत जिल्ला अस्पतालमा अक्सिजन पलान्टका निर्माण गर्ने छौं। त्यसका लागि झण्डै डेढ करोड खर्च हुने अनुमान गरिएको छ।'
संघले कोभिड महामारीका विरुद्धमा लड्नका लागि संघ प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने उनले बताए।