जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक शत्रदेखि एमबिबिएस कार्यक्रम शुरु हुने पक्का भएको छ। चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबिबिएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा एमबिबिएस कार्यक्रम शुरु हुने पक्का भएको हो।
चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले जुम्लामा एमबिबिएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जनाए। ‘चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र एमबिबिएस कार्यक्रम शुरु हुन्छ,’ सूचना अधिकारी कोइरालाले भने, ‘कोभिड–१९ का कारण प्रक्रियामा ढिलो भएको हो। यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ।’ हाललाई एमबिबिएस सञ्चालन गर्न प्रतिष्ठानलाई झण्डै २५ सीट दिने गरी प्रस्ताव गरिएको उनले जानकारी दिए।
चिकित्सा शिक्षा आयोगले यो विषयमा अन्तिम निर्णय गरेर एकदुई दिनभित्रै सार्वजनिक गरिने प्रतिक्रिया पनि उनले दिए।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावल यही कामका लागि काठमाडौं आएका छन्। उनले यस विषयमा आफूलाई आधिकारिक जानकारी भने आइनसेकको जानकारी दिए।
'कर्णालीमा एमबिबिएस कार्यक्रम शुरु गर्ने विषयमा हामी लामो समयदेखि लागिरहेका छौं', उनले भने, 'चिकित्सा शिक्षा आयोगले के निर्णय गरेको छ भन्ने विषयमा आधिकारिक जानकारी भने अहिलेसम्म पाएको छैन।' उनले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम शुरु गर्नका लागि आवश्यक तयारी भने गरिरहेको जानकारि दिए।
प्रतिष्ठानका रेक्टर शिक्षाध्यक्ष डा निरेश थापाले एमबिबिएस पढाई कर्णालीको विकासको काशेढुंगा भएको प्रतिक्रिया दिए। उनले बहुप्रतिक्षित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सरकारको सहयोग निकै महत्वपुर्ण रहेको बताउँदै अब कर्णालीमा डक्टरी पढाइले परिभाषा बदल्ने बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हाल सम्म ८ वटा विषयको पठनपाठन भइहेको छ। सर्टिफिकेट लेबलको पठनपाठन २०७१ सालदेखि शुरु भएको थियो। जसअन्तर्गत जनरल मेडिसिन,स्टाफनर्स,फार्मेसी पठनपाठन भइरहेको छ ।
स्नातक तहमा २०७५ सालदेखि बिपिएस र बिएमएस पठनपाठन भइरहेको छ। एमडीएमएसको पठनपाठन २०७७ सालदेखि शुरु भएको छ। एमडीजीपी इमरजेन्सी मेडिसिन, पेडाटिक्स र एमडी एनएएसथेसिया पठनपाठन भइरहेकोछ । सर्टिफिकेट तहमा अधिकांस विद्यार्थी सेवामा खटिसकेको शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए। प्रतिष्ठानमा एक बर्षे कोर्ष अन्र्तगत एनएसथेसिया तालिम दिने गरिएको समेत उनले बताए। यहाँ उत्पादित जनशक्ति लोकसेवा आयोगमा समेत सफल भएको छ।
उनले थपे, ‘नामचलेको स्वास्थ्य संस्थामा काम गरेर प्रसंसा बटुलिरहेका छन। यहाँ उत्पादन भएको जनशक्ति प्रति सबैको राम्रै बुझाइँ छ।’
उनले भने,‘कर्णालीमा एमबिबिएस कार्यक्रम शुरु हुने बाटो खुलिसकेको छ। त्यही बाटो पछ्याएर कर्णालीले दक्ष डक्टर उत्पादन गर्ने सामाथ्र्य राख्नेछ। डक्टरी पढ्न कर्णाली आउने वातावरण सिर्जना भइसकेको छ। यो कार्यक्रमले कर्णालीको परिभाषा नै बदल्नेछ। ’
एमबिबिएस कार्यक्रमको लागि सबै तयारी पुरा भइसकेको छ। पुर्वाधार निर्माण, शिक्षक जनशक्ति र अस्पताल तयारी अवस्थामा छ। गत चैत महिनामा चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा पुगेर एमबिबिएस पठनपाठनका लागि चाहिने आवश्यक सबै तयारीको अनुगमन गरेको थियो।
‘एमबिबिएस कार्यक्रम सामाजिक,आर्थिक रुपान्तरणको कोशेढुंगा हो।अब कर्णालीका सबै स्थानीयतहले यहाँ उत्पादन हुने डक्टर पाउनेछन। कर्णाली प्रतिष्ठानको पनि स्थानीयतहमा डक्टर चाहियो भनेर सम्झौता गर्न आवस भन्ने चाहना छ,’ शिक्षाध्यक्ष थापाले भने।
उनले एमबिबिएस कार्यक्रम शुरु भएपछि दुई बर्षमा कर्णालीका सबै स्थानीय तहमा डक्टर उत्पादन गरेर पठाउन सकिने बताए।
कर्णाली जस्तो विकट ठाउँमा सामाजिक उत्तरदायित्व बोध भएको जनशक्ति उत्पादन हुने जानकारी दिए।
उनले भने,‘यो जनशक्तिले कर्णाली जस्तो दुगर्म क्षेत्रमा खटिएर काम गर्न सकोस। पहिले कर्णाली कार्यक्षेत्र बनाएर आउन डक्टरले मानेका थिएनन। अब कर्णाली जस्तै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिने डक्टर कर्णालीमा उत्पादन हुनेछन।'
पुर्व उपकुलपति डा राजेन्द्रराज वाग्ले सबै जनाको अथक मेहनतले कर्णालीमा एमबिबिएस संभव भएको बताए। "हामी सबै मिलेर काम गर्यौं। यो ठुलो उपलब्धि बन्यो। कर्णालीको लागि यो सौभाग्यको बिषय हो’ उनले भने।
एमडीजीपी कार्यक्रम शुरु भएपछि एमबिबिएस कार्यक्रम ल्याउन सहज बनेको अनुभव सुनाए। 'म आउँदा सर्टिफिकेट लेबलको कार्यक्रम मात्र थिए। प्रतिष्ठानको आफ्नो कार्यक्रम थिएनन,' उनले भने ‘म आइसकेपछि ब्याचलर लेवलको कार्यक्रम आयो। एमडिजीपी शुरु भयो। जसका कारणले एमबिबिएस पठनपाठनका लागि सहज बन्यो। ’
उनले अब कर्णाली स्वास्थ्य शिक्षाका हिसावले निकै अगाडी जाने विश्वास व्यक्त गरे। कर्णाली कुनै बेला डक्टर आउन नमान्दा कार्यालय सहयोगीले दिएको औषधिले चित्त बुझाउँथ्यो। अहिले कर्णालीमै डक्टरी उत्पादन गरेर सिंगो मुलुकलाई दिने हैसियतमा पुगेको छ।