कोभिड-१९को महामारी सँगै क्यान्सर रोगको निरन्तर उपचारमा रहेका बिरामीलाई कत्तिको असर पारेको छ त? यो प्रश्न अहिलेको परिस्थितिमा एकदमै समयसान्दर्भिक छ। यो प्रश्नको उत्तर न त सरकारसँग छ न त अन्य कुनै सरोकारवाला निकायसँग। नयाँ भेरियन्टसंगै अहिले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा क्यान्सर लगायत अन्य दीर्घरोगीका बिरामीहरू प्रत्यक्ष मारमा परेका छन्। तर, उनीहरुको उपचारका लागि कहीँकतै पनि प्रयास भएको देखिएको छैन।
क्यान्सर तथा अन्य दीर्घ रोगका बिरामीहरुलाई यतिबेला अस्पताल जाँउ भने कोरोनाको त्रास छ। सँगसँगै निषेधाज्ञाका कारण अस्पताल जाने वातावरण छैन। अस्पताल नजाऊँ भने नियमित उपचार छुट्दा क्यान्सर तथा अन्य दीर्घ रोग झन् बल्झिएला भन्ने डर छ। यही डरका कारण क्यान्सरका धेरै बिरामीमा अहिले तनाव उत्पन्न भइहेको छ। एकातिर क्यान्सरले गाल्दै लगिरहेको छ भने अर्को तर्फ तनाव बढाउँदै समस्या झनै जटिलता तर्फ गइरहेको अवस्था छ।
क्यान्सर उपचार हुने अस्पतालमा अहिले कोभिड बाहेक क्यान्सर रोगको उपचार यथावत छ कि छैन भन्ने दुविधा समेत बिरामीहरुमा देखिएको अवस्था छ। सामान्य परामर्शबाट पनि समस्या समाधान हुनसक्ने बिरामीहरु अन्योल र दुविधाका कारण तनावमा बस्नुपर्ने बाध्यता छ। अस्पतालले नियमित स्वास्थ्य सेवा दिएपनि निषेधाज्ञाको कारण अस्पतालसम्म पुग्न कठिनाइ हुँदा क्यान्सरका बिरामीहरूले आवश्यकता अनुसार पाउनपर्ने अन्य स्वास्थ्य सेवाबाट बन्चित छन्। अस्पतालले निरन्तर भौतिक र अस्पताल आउन नसकेकोमा परामर्शको लागि टेलिफोन सेवासुविधा सुचारू गरेपनि बिरामीलाई यो निषेधाज्ञाको समयमा केही जटिलता आएमा अस्पताल पुगिहाल्न त्यति सहज छैन।
डाक्टरसँग सल्लाह गरेर उपचारको लागि अस्पताल आउन खोज्यो भने पनि चाहिएको बेला सवारीसाधन, एम्बुलेन्स उप्लब्ध हुँदैनन्। अस्पतालसम्म पुग्न साधन पाइहाले पनि उनिहरूले असुल्ने महंगो भाडा, बिच बाटोमा गाडीलाई देखाउनु पर्ने कागजपत्र तथा पासको झन्झट, अस्पतालमा पुगिहालेमा पनि महामारीको बेला बिरामी कुरूवालाई उचित ठाउँ, होटेल, खाने बस्नेको समस्या छ। जसका कारण अहिले क्यान्सरका बिरामी धेरै मर्कामा परेका छन्।
यतिमात्र हैन क्यान्सरका विरामीलाई लिएर टाढा बाट अस्पतालमा आएकाहरुलाई पिसिआर गराउँदा कोरोना पोजिटिभ देखिएर घर फर्किनु पर्दाको पिडा, बिरामी र कुरूवा को पिसिआर गराउँदा बिरामीको नेगेटिभ र कुरूवाको पोजेटिभ देखिएर अस्पतालमा बिरामी लिएर आएका कुरूवा आफैं भर्ना भएर बस्नु परेका जस्ता थुप्रै समस्याहरु छन्। यी सबै समस्याको समाधान गर्दै सहजरुपमा क्यान्सरका बिरामीको सेवा दिने वातावरण बनाउन आवश्यक छ। होइन भने अहिलेको केही समस्याका कारण भोली जटिल र गम्भीर खतरा निम्तिने पक्का छ।
महामारी र त्यसपछि लगाइएको निषेधाज्ञाका कारण बिरामीलाई आफ्नो रोगको चिन्ता हुँदाहुँदै पनि कोरोनाको डर र अस्पतालसम्म पुग्नका लागि भइरहेको असहज परिस्थितिले क्यान्सर रोगका बिरामीहरू आफ्नै उपचारबाट पछि हट्न बाध्य बनेका छन्। सधैं यस्तै बाधा र बाध्यताको सिर्जना भइरह्यो भने भोलिका दिनमा क्यान्सर लगायत अन्य दीर्घरोगहरूले महामारीको रूप लिन नसक्ला र?
क्यान्सर रोग समयमै पहिचान गर्न सकियो र समयमै उचित उपचार गराउन सकियो भने निको हुने रोग हो। क्यान्सरलाई परास्त गर्न उत्तम उपाए भनेको नै निश्चित समयमा यसको पहिचान र उपचार हुनु नै हो। तर विडम्बना के छ भने यो महामारीमा अस्पतालले सेवा दिइरहेको भए पनि निषेधाज्ञाले गर्दा क्यान्सरका बिरामीहरूले आवश्यकता अनुसारको सेवा पाउन सकेका छैनन्।
अस्पतालहरुले पनि विगतमा जस्तै गाउँगाउँमा गएर क्यान्सर सम्बन्धि सचेतना र स्क्रिनिङ कार्यक्रम गराउन सकेको अवस्था छैन। कोरोनाकै डरले नियमित उपचार र फलोअपमा नआउँदा क्यान्सर उपचारमा निकै समस्या देखिएको अघिल्लो वर्षको लहरमा नै देखिएको छ। यो पटक पनि त्यस्तै खतरा बढीरहेको देखिन्छ। गत वर्ष समयमा नै फलो अप र परीक्षण नगराउँदा धेरै क्यान्सरका बिरामीमा पहिलो चरणको क्यान्सर तेस्रो र चौथो चरणसम्म पुगेको पाइएको थियो। यो पटक पनि त्यस्तै अवस्था देखिने खतरा छ।
प्रविधिको प्रयोगबाट घरमा रहेका क्यान्सरका बिरामीलाई आवश्यक सुझाव र सहयोग गर्ने व्यवस्था सहज र पर्याप्त मात्रामा भए पनि यसले धेरैलाई रहात प्रदान गर्ने सक्थ्यो। अस्पतालहरुले टेलिफोनबाट परामर्श सेवा दिइरहेको अवस्था त छ। तर त्यो आम रुपमा बिरामीमाझ पुग्न सकेको छैन। जसका कारण उनीहरुले उक्त सेवा लिन सकेको अवस्था पनि छैन। टेलीफोन तथा प्रविधिको प्रयोगबाट मात्र प्रभावकारी सेवा दिन सकेमा पनि धेरै क्यान्सरका बिरामीको डर र तनाव हट्ने थियो। उनीहरुको अवस्थाको सही जानकारी विशेषज्ञ चिकित्सकले थाहा पाएर उचित सल्लाह, सुझाव तथा परामर्श दिने थिए।
यी विषयमा पर्याप्त जानकारी नहुँदा र अस्पतालमा कोभिडबाहेकका सेवाहरु चलेको छ वा छैन भन्ने विषयमा पनि जानकारी नहुँदा क्यानसरका बिरामी पीडा लिएर घरमै बसेका छन्। महामारी र निषेधाज्ञाका कारण उनीहरु सकसमा छन्। तर कोरोनाको जोखिम र डरका कारण घरमा नै बसिरहँदा के हामीलाई क्यान्सरले रोक्ला र? निषेधाज्ञाले हामीलाई क्यान्सरको उपचार लिन कुराए पनि क्यान्सरले कसैलाई कुर्दैन। बरु झन् समस्या बढ्दै जानेछ।
समयमै क्यान्सरको उपचार प्रविधि जस्तैः शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी गराए निको हुने क्यान्सर नियमित रूपमा उपचार नगराउँदा फेरि बल्झिएको र पुन: सुरूवातको चरणबाटै उपचार गराउन परेको, घरमा पेट दुखेर ग्यास्ट्रिक होला भन्ने आशंकाले आफैंले ग्यास्ट्रिकको औषधि किनेर खाएर बस्दा पछि पेटको क्यान्सर देखिएका धेरै उदाहरणहरू छन्।
सबै क्यान्सरका बिरामीहरूको सेवाको एउटै प्रकार र प्रक्रियाहरु हुँदैन। सामाजिक दूरी कायम गरेर गर्न सकिने र मिल्ने खालको पनि हुँदैन। बिरामी अस्पतालमा आउँदा प्रयोगशालाको काम, आकस्मिक सेवा, वायोप्सी, शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, फलोअप, अस्पतालमा हुने भर्ना लगायतका धेरै थरीका हुने गर्छन्। पटकपटकको आवतजावतले गर्दा भाइरसको संक्रमण हुने सम्भावना पनि झन् बढेर जान्छ। तर कोरोनाको डरले क्यान्सरको उपचारलाई पछाडि धकेल्दाको असर के होला? समयमै क्यान्सरको पहिचान र उचार नभएर क्यान्सर बल्झिँदा भोलिको दिनमा क्यान्सरबाट हुने मृत्युदर नबढ्ला त? यो आफैंमा एकदम चुनौतीपूर्ण प्रश्न हो। यस्तै परिस्थिति भइरहेमा क्यान्सरको निदान भन्दा पनि सपोर्टिभ उपचारमा मात्रै सेवा सिमित नहोला भन्न पनि सकिन्न।
अहिलेको परिस्थितिमा उपचारमा आउनु भएका बिरामी, बिरामीको आफन्त, स्वास्थ्यकर्मी सबैले कठिनपुर्ण चुनौती सामना गरिरहेका छन्। यस्तो समयमा धैर्यता हुनु, आफूलाई व्यस्त राख्नु, उच्च मनोबल बनाइराख्नु महत्त्वपूर्ण हुन्छ।
निषेधाज्ञाले बिरामी अस्पतालसम्म पुग्न नसके पनि अस्पतालले दिएको टेलिसेवाबाट पनि परामर्श लिन सकिन्छ। त्यस्तै आवश्यकता र आकस्मिक परेमा डाक्टरको सल्लाहमा होसियारीपुर्ण उपचारका लागि अस्पताल आउन पनि सकिन्छ। तर क्यान्सरको बिरामीले उपचारमा ढिलाइ गर्न भने हुँदैन। समयमै उपचार पाउनु पर्छ। बरू उपचार गर्न आउने सहज वातावरण बनाइनुपर्छ। क्यान्सर तथा अन्य दीर्घरोगीको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्नैपर्छ। यसका साथै उपचारका लागि अस्पतालमा पुग्दा ती स्थानलाई कोभिडमुक्त बनाउन आवश्यक सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउनु महत्वपूर्ण हुन्छ। होइन भने क्यान्सरका बिरामीले अहिले जुन सकस भोगिरहेका छन्। यसले भोलीका दिनमा झन् जटिल र गम्भीर समस्या निम्त्याउने खतरा छ। त्यसैले बेलैमा यसबारे सोच्न र कदम चाल्न जरुरी छ।