जुम्ला- एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ। कोरोना संक्रमण फैलँदा गाउँमा निराशा छाएको थियो। गाउँभरी त्रास थियो। गाउँ नै सील गरिएको थियो।
एकै पटक २१ जनामा कोरोना संक्रमण भएपछि गाउँमा सन्नाटा छाएको थियो। तर संक्रमित निको भएर घर फर्किदा निकै खुसि थिए।
तातोनापानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईं एकै पटक २३ जना निको भएर घर फर्किदा निकै खुशी भएको बताउँछन्। उनले भने, ‘धमाधम गाउँमा संक्रमित भेटिन थालेपछि निकै चिन्तित थियौँ। अब निको भएर घर फर्कने लहर शुरु भएकोले उत्साहित छौँ।’
कोभिड अस्पतालमा रहेको आइसोलेसनबाट एकै दिन तातोपानी ६ का २१ जना र तातोपानी ७ का २ जना संक्रमित कोरोना जितेर घर फर्किएको उनले बताए।
कोरोना जितेर घर फर्किने संक्रमितको गाउँपालिकाले भव्य रुपमा विदाइ गरेको थियो। संक्रमण देखिँदा आइसोलेसनमा आउन मानिरहेका थिएनन्। तर निको भएर घर फर्कदा गाउँपालिकाले गरेको व्यवस्थापनको प्रशंसा भइरहेको थियो। आइसोलेसनमा बस्दा आफ्नो पनि सुरक्षा हुने र आफन्तको पनि सुरक्षा हुने भन्दै आइसोलेसन बनाउने काम निकै प्रभावकारी भएको अनुभुति संक्रमितले सुनाइरहेका थिए।
तातोपानी गाउँपालिकाले ४७ जना संक्रमितलाई आइसोलेसनमा राखेको थियो। आइसोलेसनमा उपचार सेवासँगै खानाको व्यवस्था पनि निशुल्क थियो।
आइसोलेसनमा हरेक दिन जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गर्ने, भरोसा दिने र व्यवस्थापनमा देखिएको अभाव परिपुर्ति गर्ने गरिएको थियो। ठुलो संख्यामा संक्रमित आइसोलेसनमा राखेर औषधि उपचार, निगरानी राख्ने तातोपानी पहिलो गाउँपालिका हो। जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा आइसोलेसन सेन्टर बने पनि प्रयोगमा आउन सकेनन्।
तर तातोपानी गाउँपालिकामा संक्रमितको घरघरमा पुगेर आइसोलेसनमा बस्नको लागि प्रेरित गरिएको थियो। उपाध्यक्ष गंगादेवी उपाध्याय बल्ल जनप्रतिनिधि भएको अनुभुति भएको बताउँछिन।
उनले भनिन्, ‘कोरोनाले जनजीवन अस्तव्यस्त छ। आइसोलेसनमा आउन नमान्दा निकै चुनौति रह्यो। तर आइसोलेसनबाट निको भएर घर फर्कंदा सबै दुख बिर्सिए। मनमा खुसिनै छायो।’
निको भएर घर फर्कने संक्रमितलाई गाउँपालिकाले होमआइसोलेसनमा बसेर उच्च सावधानी अपनाउन सुझाव दिइएको छ।
घरमा गएर मास्क लगाउने, सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले नियमित हातधुने र शंकास्पद लक्षण देखिने वित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आइहाल्न आग्रह गरेको तातोपानी गाउँपालिकाले जनाएको छ।
गाउँमा कोरोना लक्षणका बिरामी देखिन वित्तिकै स्वास्थ्यकर्मी लिएर वडाध्यक्ष विशाल खड्का गाउँमा पुगेका थिए। उनले गाउँपालिका स्वास्थ्य शाखा समन्वय गरेर पिसिआर परिक्षणका लागि पहल गरे।