रोल्पा- जिल्ला प्रशासन कार्यालय रोल्पाले असार १० गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र रोल्पाको सिफारिस अनुसार जिल्ला प्रशासन कार्याल रोल्पाले निषेधाज्ञाको अवधि थप गरेको हो। यस अघि गत जेठ २० गते तेश्रो पटक थप गरेको निषेधाज्ञा सोमवार राती १२ बजेसम्म कायम थियो।
कोभिड १९ को संक्रमण अझै नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले चौथो पटकका लागि निषेधाज्ञा थप गरेको हो। दश दिनका लागि थप गरिएको निषेधाज्ञामा होटल व्यवसाय, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थल, शैलुन, ब्यूटीपार्लर, हेल्थ क्लब, कवर्डहल, फुटसल, जिमखाना, दर्शक सहितको खेलकुद र निजी सवारी साधन भने संचालनमा ल्याउन नपाउने निर्णय गरेको छ।
विकास निर्माण कार्यको लागि निर्माण सामग्रीहरु साँझ ५ बजेदेखी ८ बजेसम्म मात्र ढुवानी गर्न पाउन यस अघिको निर्णयलाई परिवर्तन गरि अबदेखी नियमित रुपमा ढुवानी गर्न सक्ने निर्णय गरेको छ। विकास निर्माणसंग सम्बन्धित कार्यालय र अति आवश्यक सेवा संचालन गर्ने कार्यालयहरुको सवारी साधन जिल्ला भित्र सहज ढंगले चल्न पाउने गरि नियम खुकुलो बनाएको छ।
बिहान ७ देखी ९ वजेसम्म खुल्दै आएका पसलहरु अब बिहान ६ देखी १० बजेसम्म खुल्ने भएका छन्। स्वास्थ्य सामाग्री, औषधि पसल भने २४ सैं घण्टा खुला रहन पाउने भएका छन्। बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाह हुने वैंकिङ सेवाहरु शाखा प्रबन्धकले न्यूनतम कर्मचारीको उपस्थितिमा नियमित सेवा प्रवाह गर्न पाउने भएका छन्।
कोरोनाका कारण रोल्पामा १७ जनाले ज्यान गुमाइ सकेका छन्। उपचारका क्रममा जिल्ला बाहिर ज्यान गुमाउनेको संख्या करिव एक दर्जन रहेको बताइन्छ। जिल्लामा पिसिआर १ हजार ४ सय ८८ र एन्टीजेन २ हजार ६ सय ८ गरि ४ हजार ९६ जनामा कोरोना परिक्षण गर्दा १ हजार ८ सय ३० मा संक्रमण पुष्टी भएको थियो। संक्रमित मध्ये १ हजार ३ सय ३ जनाले कोरोना जितिसकेका छन्। हाल होम आइसोलेसनमा ३५२ जना रहेका छन्। संक्रमितमध्ये रोल्पा अस्पतालको आइसोलेसनमा १४ जना र जिल्ला भित्रका विभिन्न स्थानीय तहहरुको आइसोलसनमा १४४ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।