काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संगठनको संयुक्त संर्घष समितिले अनियमितता विरुद्ध विरोध कार्यक्रम सुरु गरेको छ।
उपकुलपति डा ज्ञानेन्द्र गिरीले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषय लगायत २ बुँदे माग राख्दै आजदेखि आन्दोलन सुरु भएको हो।
समितिले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा भइरहेको अनियमिता र भद्रगोलका कारण बिरामीको सेवा प्रवाहमा प्रतिकूल असर परेको विषयमा आवाज उठाउँदा स्पष्टीकरण सोधिनु आपत्तिनजक भएको भन्दै विरोध कार्यक्रम घोषणा गरेको थियो।
सयुक्त संघर्ष समितिले फ्याकल्टी वेलफेयरका अध्यक्षलाई सोधिएको स्पष्टीकरण विनाशर्त २४ घण्टाभित्र फिर्ता लिनुपर्ने र विना जायज कारण स्पष्टीकरण सोधिएकाले माफी समेत माग्नुपर्ने र राष्ट्रिय संचार माध्यम र जनसरोकार मार्फत यस प्रतिष्ठान बारेमा उठेका अनियमितता, भ्रष्ट्राचार लगायत वेथितिको बारेमा छानविन गर्न प्रशासन समेतको संलग्नतामा सबै पक्षको सहभागितामा उच्चस्तरीय शक्तिशाली समिति बनाउने र सो को सुझाव तत्काल लागु गरिनुपर्ने माग राखेको छ।
संघर्ष समितिले माग पूरा नभएसम्म र अर्को सूचना नभएसम्म हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म उपकूलपति कार्याललय अघि सम्पूर्ण फ्याकल्टी, जुनियर रेसिडेन्ट, विधार्थी र कर्मचारीको उपस्थितिमा विरोध सभा गर्ने र शान्तिपूर्ण र्याली गर्ने जनाएको छ।
माग पुरा नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत समितिले दिएको छ।